काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी  प्रश्न गरे ।

ad

सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम २१ को ‘ख’ मा सभामुखले पद अनुकुलको आचरण गरेको छैन भन्ने प्रस्तावमा बाहेक सभामुखको आलोचना गर्न नपाइने प्रावधान रहेको कार्कीले बताए।

त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताए । उनले भने-‘आजै माननीय सदस्य चन्द्रमोहन यादवले बोल्ने क्रममा बोलिएको शब्दप्रति मेरो ध्यानाकर्षण भएको छ। माननीय सदस्यलाई हाम्रो नियमावलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँदछु ।’