काठमाडौं । स्वास्थ्य बिमा बोर्डले देशभरका २०२ सेवा प्रदायक अस्पताललाई स्वास्थ्य बिमा दाबीबापत थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढाएको छ। बिमा दाबी भुक्तानीमा देखिएको चाप कम गर्न सरकारले चरणबद्ध रूपमा रकम निकासा गरिरहेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता महाशाखाका अनुसार स्वास्थ्य बिमा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार योजनाअन्तर्गत बाँकी दायित्व फर्छ्योटलाई प्राथमिकतामा राखेर आवश्यक बजेट व्यवस्थापन भइरहेको छ।

ad

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालको निकासा प्रक्रियाले सेवा प्रदायक अस्पतालहरूलाई बिमा दाबीबापतको भुक्तानी उपलब्ध गराउन सहयोग पुग्ने बताए। उनका अनुसार यसअघि जेठ महिनाको दोस्रो साता मात्रै स्वास्थ्य बिमा दाबी शीर्षकमा एक अर्ब तीन करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।

त्यसैगरी विपन्न नागरिकको औषधि उपचार कार्यक्रमअन्तर्गत जेठ २१ गते ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।

सरकारी तथ्यांकअनुसार गत मङ्सिरसम्मको बिमा दाबीमध्ये करिब सात अर्ब रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ। यस्तै, चालु आर्थिक वर्षको पुसदेखि असारसम्मको दाबी भुक्तानीका लागि थप करिब १४ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

मन्त्रालयले विगतका वर्षदेखि थाँती रहेका बिमा दाबी तथा विपन्न नागरिक उपचार खर्चको भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। स्रोत व्यवस्थापनसँगै भुक्तानी प्रक्रियालाई तीव्र बनाइएको मन्त्रालयको दाबी छ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध अस्पतालहरूले लामो समयदेखि बक्यौता भुक्तानीको माग गर्दै आएका बेला सरकारले थप रकम निकासा प्रक्रिया अघि बढाएको हो। यसबाट सेवा प्रदायक संस्थाहरूको वित्तीय दबाब केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।