
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह भरतपुरस्थित गेष्टहाउस चौरमा गर्ने निर्णय गरेको छ। यसअघि रत्ननगरमा गर्ने तयारी गरिए पनि बढ्दो गर्मी र सहभागीहरूको सहजतालाई ध्यानमा राख्दै स्थान परिवर्तन गरिएको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उद्घाटन कार्यक्रम भरतपुरको जिल्ला प्रहरी कार्यालय नजिक रहेको गेष्टहाउस चौरमा आयोजना हुनेछ। आवश्यक परे वैकल्पिक रूपमा भित्री स्थलको समेत व्यवस्था मिलाउन सकिने तयारी गरिएको उनले बताए।
महाधिवेशनको बन्दसत्र भने भरतपुरस्थित नेपाल उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। केन्द्रीय सदस्य राजन गौतमका अनुसार प्रतिनिधिहरूबाट मौसम र तापक्रमबारे चासो व्यक्त भएपछि कार्यक्रम स्थल छनोटमा विशेष ध्यान दिइएको हो।
उद्घाटन स्थलमा २५ देखि ३० हजारसम्म सहभागी अट्ने अनुमान गरिएको छ। पार्टीले यसपटक समर्थक तथा शुभेच्छुकहरूलाई ल्याउन छुट्टै सवारीसाधनको व्यवस्था नगर्ने जनाएको छ। सहभागीहरू स्वःस्फूर्त रूपमा कार्यक्रममा उपस्थित हुने अपेक्षा गरिएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरिनेछ भने बसोबासका लागि स्थानीय होटलहरूसँग समन्वय भइरहेको छ। होटलहरूले उपलब्ध गराएको शुल्क विवरणका आधारमा प्रतिनिधिहरूलाई आवास सम्बन्धी जानकारी उपलब्ध गराइनेछ। यद्यपि होटल खर्च भने सहभागी स्वयंले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।
रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदै छ। उद्घाटन समारोह पहिलो दिन सम्पन्न हुनेछ भने महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। पर्यवेक्षक, स्वयंसेवक तथा अन्य व्यवस्थापन टोलीसमेत जोड्दा सहभागी संख्या चार हजारभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ।









Facebook Comments