
काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा कुल १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम चालु आर्थिक वर्षका लागि तय गरिएको १४ खर्ब ८० अर्ब रुपैयाँको लक्ष्यको ७३.०६ प्रतिशत मात्रै हो।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार राजश्व संकलन लक्ष्यअनुसार हुन नसक्दा वार्षिक लक्ष्य पूरा गर्न अन्तिम महिनामा ठूलो दबाब परेको देखिएको छ।
सरकारले चालु आर्थिक वर्षमा कर राजश्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको थियो। तर ११ महिनासम्ममा ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ७४.०३ प्रतिशत हो।
यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा समीक्षा अवधिमा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्रै उठेको छ। यो लक्ष्यको ६४.७३ प्रतिशत बराबर हो।
अनुदान प्राप्तितर्फको अवस्था अझ कमजोर देखिएको छ। चालु आवमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको भए पनि ११ महिनामा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ। यो लक्ष्यको ४२.८२ प्रतिशत मात्र हो।
राजश्व, गैरकर आम्दानी र अनुदान तीनै शीर्षकमा लक्ष्यभन्दा कम संकलन भएपछि चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्धारित स्रोत परिचालन लक्ष्य हासिल गर्न सरकारलाई चुनौती थपिएको छ।










Facebook Comments