
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुति सत्तारुढ गठबन्धनभित्रकै असमझदारीका कारण अन्योलमा परेको छ। बजेट तथा योजना वितरणमा सहमति जुट्न नसक्दा सोमबार साँझ ५ बजेका लागि तय गरिएको प्रदेशसभा बैठक निर्धारित समयमा सुरु हुन सकेन।
स्रोतका अनुसार बजेट विनियोजनको विषयलाई लिएर सरकारभित्र असन्तुष्टि बढेको छ। विशेषगरी भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो मन्त्रालयलाई उपलब्ध गराइएको बजेट सीमा अपेक्षाअनुसार नभएको भन्दै आपत्ति जनाएका छन्। बजेट निर्माण प्रक्रियामा नेकपा एमाले मात्र होइन, मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वकै नेपाली कांग्रेसका केही मन्त्री तथा सांसदहरू पनि असन्तुष्ट देखिएका छन्।
सांसदहरूले पूर्वसहमतिअनुसार आफ्ना निर्वाचन क्षेत्रका योजना बजेटमा समावेश नगरिए बजेट पारित प्रक्रियामा सहयोग नगर्ने चेतावनी दिएका छन्। यही कारण बजेटलाई अन्तिम रूप दिन सरकारलाई कठिनाइ भइरहेको बताइएको छ।
कानुनी व्यवस्थाअनुसार बजेट तयारीका लागि आवश्यक प्रणाली आइतबार रातिसम्म बन्द भइसक्नुपर्ने भए पनि सोमबार साँझसम्म कर्मचारीहरू बजेटसम्बन्धी काममै संलग्न रहेको दाबी गरिएको छ। यसले बजेट निर्माण प्रक्रिया निर्धारित कार्यतालिकाभन्दा पछाडि धकेलिएको संकेत गरेको छ।
मन्त्रीहरूबीच सहमति नजुट्दा बजेटको मस्यौदा अझै पूर्ण हुन नसकेको र त्यसकै कारण मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् बैठकसमेत बोलाउन नसकेको स्रोतको भनाइ छ। संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र बजेट प्रदेशसभामा प्रस्तुत गर्न मिल्ने व्यवस्था छ।
यसबीच मुख्यमन्त्री शाह र आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी असन्तुष्ट पक्षसँग छलफल गर्दै साझा सहमति खोज्ने प्रयासमा जुटेका छन्। सरकार आजै बजेट प्रस्तुत गर्ने पक्षमा रहे पनि आन्तरिक विवाद समाधान नभएसम्म त्यसको टुंगो लाग्ने अवस्था देखिएको छैन।
हाल प्रदेशसभा सचिवालयमा सांसदहरू बैठकको प्रतीक्षामा रहेका छन् भने मन्त्रालयस्तरमा बजेटसम्बन्धी विवाद मिलाउन निरन्तर छलफल चलिरहेको बताइएको छ।










Facebook Comments