
काठमाडौं । प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूको न्यून उपस्थितिप्रति आपत्ति जनाउँदै नेकपा एमालेका सांसद राजेन्द्र राईले विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुन अस्वीकार गरेपछि केही समय अवरुद्ध भएको बैठक पुनः सञ्चालनमा आएको छ।
विनियोजन विधेयकअन्तर्गत नौ मन्त्रालयमाथि छलफल चलिरहँदा सदनमा दुई जना मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले रोष्ट्रममै उभिएर विरोध जनाएका थिए। उनको आपत्तिपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
स्थगनपछि सम्बन्धित मन्त्रालयका थप मन्त्रीहरू सदनमा उपस्थित भएपछि बैठक पुनः सुरु गरिएको हो।
बैठक पुनः सञ्चालन भएपछि राईले आफ्नो धारणा स्पष्ट पार्दै संसद्ले हालै पारित गरेको नियमावलीको कार्यान्वयन र संसदीय अभ्यासको सम्मानका लागि मन्त्रीहरूको उपस्थिति आवश्यक रहेको बताए। उनले आफ्नो अभिव्यक्तिबाट कुनै असहजता सिर्जना भएको भए क्षमा माग्दै सदनको मर्यादा कायम राख्ने उद्देश्यले आफूले विषय उठाएको स्पष्ट पारे।
छलफल प्रारम्भ हुँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी र कृषिमन्त्री गीता चौधरी मात्र उपस्थित थिए। राईको विरोधपछि शिक्षामन्त्री सस्मित पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पर्यटनमन्त्री गणेश पौडेल, स्वास्थ्यमन्त्री निशा मेहता, उद्योगमन्त्री रामजी यादव तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना सदनमा उपस्थित भएका थिए।
आफ्नो भनाइका क्रममा राईले पछिल्लो निर्वाचनबाट स्थापित नयाँ राजनीतिक शक्तिप्रति पनि टिप्पणी गरे। उनले जनताले परिवर्तन र नयाँ अभ्यासको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेको स्मरण गराउँदै राजनीतिक क्षेत्रमा देखिएको परिवर्तन विकास र सुशासनका क्षेत्रमा किन अनुभूत हुन नसकेको भन्ने प्रश्न उठाए।
‘जनताले नयाँ सोच र नयाँ अभ्यासको अपेक्षासहित मत दिएका थिए। राजनीतिक रूपमा परिवर्तन देखियो, नेतृत्वको पुस्तागत संरचनामा पनि फेरबदल आयो। तर विकास र परिणामका हिसाबले अपेक्षित नयाँपन किन देखिएन ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।










Facebook Comments