
नेपालमा संवादमूलक डिजिटल सामग्रीको क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल ‘देश प्रदेश पोडकास्ट’ले दोस्रो सिजनको औपचारिक घोषणा गरेको छ। पहिलो सिजनको सफलतापछि कार्यक्रमले अब आफ्नो दायरा फराकिलो बनाउँदै बहुआयामिक राष्ट्रिय मिडिया प्लेटफर्मका रूपमा अघि बढ्ने योजना सार्वजनिक गरेको हो।
उद्यमी तथा सञ्चारकर्मी सरिता ज्ञवालीको नेतृत्वमा सञ्चालित पोडकास्टले पहिलो सिजनमा १२ वटा प्रभावशाली एपिसोडमार्फत समाज, राजनीति, अर्थतन्त्र, शिक्षा, सञ्चार, उद्यमशीलता, नेतृत्व, विकास र समसामयिक विषयमा केन्द्रित अर्थपूर्ण संवाद प्रस्तुत गरेको थियो। विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, नीति निर्माता, उद्यमी, शिक्षाविद्, सञ्चारकर्मी तथा युवा नेतृत्वसँग गरिएका संवादले कार्यक्रमलाई विश्वसनीय विचार मञ्चका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
दोस्रो सिजनसँगै पोडकास्टले केवल डिजिटल श्रव्य–दृश्य सामग्रीमा सीमित नरही राष्ट्रिय टेलिभिजन, पत्रपत्रिका, म्यागजिन तथा विभिन्न डिजिटल माध्यममा आफ्नो उपस्थिति विस्तार गर्ने तयारी गरेको छ। यस विस्तारमार्फत कार्यक्रमका सामग्री अझ व्यापक दर्शक र पाठकमाझ पुग्ने विश्वास लिइएको छ।
आयोजकका अनुसार आगामी सिजनमा उद्योग, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, प्रविधि, आर्थिक विकास, महिला नेतृत्व, युवा उद्यमशीलता र सामाजिक रूपान्तरणलगायत विषयमा विशेष शृंखला उत्पादन गरिनेछ। विविध क्षेत्रका अनुभव, चुनौती, अवसर र सफलताका कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्य कार्यक्रमले लिएको छ।
दोस्रो सिजनको सुरुवातसँगै ‘देश प्रदेश पोडकास्ट सिजन–२ शुभारम्भ तथा मिडिया पार्टनरशिप साँझ’ कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा सञ्चार क्षेत्र, निजी क्षेत्र, साझेदार संस्था, प्रायोजक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ।
उक्त अवसरमा पहिलो सिजनको उपलब्धि समीक्षा, रणनीतिक साझेदारी घोषणा, सम्झौता हस्ताक्षर, सहयात्री तथा प्रायोजकहरूको सम्मान र आगामी योजनाहरू सार्वजनिक गरिने कार्यक्रम छ। आयोजकले यसलाई पोडकास्टको विकास यात्रामा महत्वपूर्ण कोसेढुंगाका रूपमा लिएको छ।
‘देश प्रदेश पोडकास्ट’ले आफूलाई केवल सामग्री उत्पादन गर्ने माध्यम नभई विचार, अनुभव र सम्भावनाहरूलाई जोड्ने साझा मञ्चका रूपमा परिभाषित गरेको छ। पहिलो सिजनबाट प्राप्त साथ, विश्वास र उत्साहले थप जिम्मेवार र प्रभावकारी ढंगले अघि बढ्न प्रेरित गरेको उल्लेख गर्दै कार्यक्रमले आगामी दिनमा राष्ट्र र समाजसँग जोडिएका विषयलाई अझ गहिरो रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।
नेपाल केन्द्रित संवादमूलक मिडिया प्लेटफर्मका रूपमा स्थापित ‘देश प्रदेश पोडकास्ट’ले जनचेतना अभिवृद्धि, विचार आदानप्रदान तथा सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने लक्ष्यसहित दोस्रो सिजनमार्फत आफ्नो पहुँच र प्रभाव थप विस्तार गर्ने तयारी गरेको छ।










Facebook Comments