पश्चिम एशियामा लामो समयदेखि जारी तनाव र सैन्य गतिविधिको अन्त्य गर्दै शान्तिको दिशामा एउटा ठूलो र ऐतिहासिक कदम चालिएको छ। अमेरिका र इरानबीच सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा समाप्त गर्ने गरी शान्ति सम्झौतामा अन्तिम सहमति जुटेको छ। यस सम्झौतामा लेबनानमा भइरहेका सैन्य गतिविधिहरू पनि समावेश छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मार्फत यस ऐतिहासिक सम्झौताबारे जानकारी दिएका हुन्। उनका अनुसार यस सम्झौताको औपचारिक हस्ताक्षर समारोह आगामी जुन १९ (असार ५ गते) का दिन स्विट्जरल्याण्डमा आयोजना गरिनेछ।

ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन्। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोसल'मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट लगाइएको नौसैनिक नाकाबन्दी तत्काल प्रभावबाट हटाइने घोषणा गरे।

यसका साथै उनले विश्वव्यापी जहाजहरूको आवतजावतलाई बाधाविहीन बनाउन 'स्ट्रेट अफ होर्मुज'लाई पूर्ण रूपमा खुला गरिएको जानकारी दिएका छन्। ट्रम्पले आफ्नो सन्देशमा लेखेका छन्, "विश्वका जहाजहरू हो, आफ्ना इन्जिन सुरु गर। तेललाई बग्न देऊ।" यद्यपि, उक्त पोस्टमा इरानसँग भएको सम्झौताका विस्तृत सर्तहरू भने खुलाइएको छैन।

इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उप-परराष्ट्रमन्त्री काजम गरिबाबादीले अमेरिकासँगको शान्ति सम्झौताको पुष्टि गरेका छन्। इरानको सरकारी सञ्चारमाध्यम 'प्रेस टिभी'का अनुसार गरिबाबादीले तेहरान प्रस्तावित ६० दिने वार्ताको अवधिमा अन्तिम सम्झौताका लागि त्यतिबेला मात्र प्रवेश गर्ने स्पष्ट पारेका छन्, जब वासिङ्टनले शत्रुता अन्त्य गर्ने, नाकाबन्दी हटाउने र रोक्का गरिएका ईरानी सम्पत्ति फुकुवा गर्ने आफ्ना प्रतिबद्धताहरू पूरा गरेको प्रमाणीकरण हुनेछ। शुक्रबार हुने आधिकारिक हस्ताक्षर समारोहपछि सम्झौता ज्ञापन पत्र (MoU) सार्वजनिक गरिने उनले बताए।

यस कूटनीतिक प्रयासलाई सफल बनाउन मध्यस्थकर्ता देशहरूको भूमिका निकै महत्त्वपूर्ण रहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बताएका छन्। उनले विशेष गरी कतारको नेतृत्वको प्रशंसा गरे, जसले यो सम्झौतालाई अगाडि बढाउन निर्णायक भूमिका खेल्यो। यसका साथै साउदी अरब र टर्कीको भूमिका पनि यो शान्ति प्रक्रियामा प्रभावशाली र महत्त्वपूर्ण रहेको बताइएको छ। सम्झौता लागू गर्नुअघि प्राविधिक पक्षहरूलाई अन्तिम रूप दिन यसै साता मध्यस्थकर्ताहरूको निगरानीमा विभिन्न प्रारम्भिक बैठकहरू आयोजना गरिँदैछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमाथि इजरायलले गरेको हमलाका कारण इरानसँगको शान्ति सम्झौता केही घण्टाका लागि टर्न पुगेको दाबी गरेका थिए। 'एक्सियोस'लाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले इजरायली हमलापछि स्थिति अचानक बदलिएको र हस्ताक्षर प्रक्रियामा केही ढिलाइ भएको बताएका थिए। सम्झौता लगभग पूरा भई हस्ताक्षर हुन केवल एक घण्टा बाँकी छँदा बेरुतमा भएको हमलाको जानकारीले आफूलाई आश्चर्यमा पारेको उनले उल्लेख गरे। उक्त घटनापछि आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति असन्तुष्टि समेत व्यक्त गरेको ट्रम्पले बताएका छन्।

यो सम्झौतापछि विश्वभर नै शान्ति र स्थिरताको आशा फेरि एकपटक बलियो भएको विश्लेषकहरूले बताएका छन्।