
विराटनगर । नेपाली कांग्रेसको संस्थापनइतर समूहले विराटनगरमा आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलाले डा. शेखर कोइरालालाई संस्थापनइतर धारको साझा नेताका रूपमा प्रस्तुत गरेकाे छ । ‘बृहत् एकता, साझा प्रतिबद्धता’ नारासहित सम्पन्न भेलामा सहभागी अधिकांश नेताहरूले कोइरालालाई संस्थापनइतर धारको साझा नेताका रूपमा प्रस्तुत गरे।
प्रदेश समिति आयोजक भनिए पनि कार्यक्रममा प्रदेश सभापति उद्धव थापा नै अनुपस्थित थिए । भेलामा डा. शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भए भने अन्य नेताहरू एउटै मञ्चमा देखिएका थिए।
कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले कांग्रेसभित्रको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी थप विभाजनको जोखिममा रहेको टिप्पणी गरे। उनीहरूले आन्तरिक संवाद, सहमति र एकतामार्फत संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र दूरी बढ्दै गएको उल्लेख गर्दै सबै पक्षलाई एक ठाउँमा ल्याउने प्रयास आवश्यक रहेको बताए। उनले एकताको प्रक्रियामा डा. शेखर कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको धारणा व्यक्त गरे।
पूर्वउपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षले व्यक्तिगत आग्रह र अहंकार त्याग्नुपर्ने बताए। उनले नेतृत्व तहलाई सहकार्य र समन्वयको बाटो रोज्न सुझाव दिँदै पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिन आग्रह गरे।
भेलामा सहभागी नेताहरूले क्रियाशील सदस्यता अद्यावधिक, महाधिवेशनको तयारी र संगठन सञ्चालनका विषयमा एकपक्षीय निर्णय भइरहेको आरोप लगाए ।
यद्यपि डा. शेखर कोइरालाले कांग्रेस कुनै पनि हालतमा फुट्न नदिने स्पष्ट पारे। उनले सहमति, सहकार्य र एकताको आधारमा पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय हित दुवै प्रभावित हुने बताए।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीभित्रको अविश्वास र डरको वातावरण अन्त्य गर्न संवाद आवश्यक रहेको धारणा राखे। अन्य वक्ताहरूले समेत कांग्रेसको आन्तरिक एकता कायम राख्न नेतृत्वले पहल गर्नुपर्ने बताएका थिए।
भेलामा उपस्थित अधिकांश नेताहरूले आगामी महाधिवेशनलाई लक्षित गर्दै संस्थापनइतर शक्तिहरूबीच सहकार्यको संकेत दिएका छन्। शेखर संयुक्त भेलाकाे प्रमुख अतिथि बनेपछि इतर समूहले उनैलाइ अबकाे सभापतिकाे उम्मेदवार बनाउने चर्चा राजनीतिक वृत्तमा छ।










Facebook Comments