काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य पुनः बढ्न सक्ने चर्चा तीव्र बनेको छ। केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री सुरेश गोपीको पछिल्लो अभिव्यक्तिपछि इन्धनको मूल्यबारे उपभोक्तामाझ नयाँ बहस सुरु भएको हो।

यद्यपि भारत सरकारले हालसम्म पेट्रोल, डिजेल वा एलपीजीको मूल्य वृद्धिसम्बन्धी कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। तर मन्त्री गोपीको भनाइले भविष्यमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको उपलब्धता र मूल्यस्थितिमा निर्भर रहने संकेत दिएको छ।

ad

केरलाको त्रिशूरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गोपीले सरकारले विश्व ऊर्जा बजारको अवस्थालाई नजिकबाट नियालिरहेको बताए। उनका अनुसार पेट्रोल, डिजेल र एलपीजीको मूल्य निर्धारण कच्चा तेलको आपूर्ति, बजारको स्थिरता तथा अन्तर्राष्ट्रिय परिस्थितिले प्रभावित गर्नेछ। मूल्यसम्बन्धी अन्तिम निर्णय भने पेट्रोलियम मन्त्रालयले गर्ने उनले स्पष्ट पारे।

पछिल्लो समय पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनावका कारण विश्व ऊर्जा बजारमा अस्थिरता देखिएको छ। विश्वको ठूलो परिमाणमा कच्चा तेल उत्पादन तथा निर्यात हुने उक्त क्षेत्रमा उत्पन्न हुने कुनै पनि संकटले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढाउन सक्छ। यसको प्रत्यक्ष असर आयातमा निर्भर मुलुकहरूमा पर्ने विश्लेषण गरिएको छ।

भारतले आवश्यक कच्चा तेलको अधिकांश हिस्सा विदेशबाट आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए घरेलु बजारमा पनि त्यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ। ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरहे तेल कम्पनीहरू र सरकार दुवै मूल्य समायोजनतर्फ जान बाध्य हुन सक्छन्।

यसअघि नै भारतमा एलपीजी, पेट्रोल र डिजेलको मूल्यमा केही वृद्धि भइसकेको छ। तर सरकार तत्काल ठूलो मूल्य समायोजन गर्ने पक्षमा नरहेको र अन्तर्राष्ट्रिय बजार तथा आपूर्ति अवस्थाको निरन्तर मूल्यांकन भइरहेको बताइएको छ।

भारतमा इन्धन मूल्य बढ्ने सम्भावनाले नेपालमा समेत चासो बढाएको छ। नेपालले पेट्रोलियम पदार्थको अधिकांश आपूर्ति भारतबाट आयात गर्ने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर नेपाली उपभोक्तामाथि पर्ने गर्छ। 

त्यसैले भारतमा इन्धन मूल्य वृद्धिको बहससँगै नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्न सक्ने सम्भावनाबारे चर्चा सुरु भएको छ।