
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले सार्वजनिक नियुक्ति र विश्वविद्यालय प्रशासनमा राजनीतिक प्रभाव बढाउने खालका अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
स्ववियुले आइतबार जारी गरेको विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले हालै दिएको अभिव्यक्तिले विश्वविद्यालयको स्वायत्तता र योग्यता प्रणालीमाथि प्रश्न उठाएको जनाएको हो।
स्ववियु अध्यक्ष दीपकराज जोशीद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयका विभिन्न पदाधिकारी, विशेषगरी उपकुलपतिलगायतका नियुक्तिमा राजनीतिक प्रभाव बढ्न सक्ने आशङ्का व्यक्त गरिएको छ। विज्ञप्तिमा यस्तो प्रवृत्तिले योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूलाई अवसरबाट वञ्चित गर्न सक्ने उल्लेख गरिएको छ।
स्ववियुले विश्वविद्यालय कुनै राजनीतिक दलको प्रभाव क्षेत्र नभई ज्ञान, अनुसन्धान र प्राज्ञिक उत्कृष्टताका आधारमा सञ्चालन हुनुपर्ने संस्थाका रूपमा रहनुपर्ने धारणा व्यक्त गरेको छ। नियुक्ति प्रक्रियामा दलगत निकटता वा राजनीतिक आबद्धतालाई प्राथमिकता दिने संकेतले विश्वविद्यालयको मूल चरित्र कमजोर बनाउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
स्ववियुले त्रिभुवन विश्वविद्यालयसहित सबै सार्वजनिक निकायमा हुने नियुक्तिहरू पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित हुनुपर्ने माग गरेको छ। साथै सम्बन्धित पक्षलाई विवादित अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्न र आगामी नियुक्ति प्रक्रियालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता जनाउन आग्रह गरेको छ।
हाल उक्त विषयलाई लिएर शैक्षिक वृत्तमा विश्वविद्यालयको स्वायत्तता, मेरिट प्रणाली र राजनीतिक प्रभावका विषयमा बहस सुरु भएको छ।
बुर्लाकोटीले पार्टीको आन्तरिक बैठकमा रास्वपालाई जिताउन सक्रिय भूमिका खेलेका व्यक्तिलाई नियुक्तिमा प्राथमिकता दिइने बताएका थिए। उनले कुनै राजनीतिक दलमा आबद्ध नभए पनि रास्वपाको पक्षमा मत माग्ने, भोट हाल्न प्रेरित गर्ने तथा पार्टीको जितका लागि काम गर्ने व्यक्तिहरूलाई अतिरिक्त मूल्याङ्कन गरिने बताएका हुन्।
बुर्लाकोटीले नियुक्तिको मेरिटोक्रेसीबारे आफ्नो धारणा स्पष्ट पार्दै योग्य र इमान्दार व्यक्तिले यदि रास्वपाको जितका लागि समाजमा भूमिका खेलेको छ भने त्यसलाई सकारात्मक पक्षका रूपमा हेरिने बताए।
उनको उक्त अभिव्यक्तिपछि नियुक्ति, योग्यता र राजनीतिक योगदानको सम्बन्धबारे राजनीतिक वृत्तमा बहस सुरु भएको छ।










Facebook Comments