नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि अलग–अलग राजनीतिक धारमा देखिएका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष पहिलोपटक कोशी प्रदेशमा एउटै मञ्चमा उभिएका छन्। विराटनगरमा आयोजित संस्थापनइतर पक्षको प्रदेशस्तरीय भेलाले पार्टीभित्र सम्मानजनक एकता र साझा एजेन्डाका लागि दबाब सिर्जना गर्ने प्रयास गरेको छ।

विशेष महाधिवेशनको वैधानिकताबारे सर्वोच्च अदालतमा परेको रिटपछि केही समय देउवा र शेखर पक्ष एकै लाइनमा देखिए पनि अदालतको फैसलापछि दुवै समूह अलग–अलग सक्रिय थिए। तर, विराटनगर भेलाले लामो समयपछि यी दुई धारलाई एउटै राजनीतिक मञ्चमा ल्याएको छ।

ad

भेलामा डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, बलबहादुर केसीलगायत नेताहरू सहभागी भए। कार्यक्रममा अधिकांश वक्ताहरूले पार्टीभित्रको विवाद समाधानका लागि 'सम्मानजनक एकता' अपरिहार्य रहेको धारणा राखे।

नेताहरूले पार्टीभित्र सहमति र संवादको वातावरण कमजोर बन्दै गएको गुनासो गरे। डा. शेखर कोइरालाले वडा तथा पालिका तहका नेताहरूलाई दबाब र कारबाहीको डर देखाइएको आरोप लगाउँदै कांग्रेस लोकतान्त्रिक मूल्य र मान्यतामा चल्नुपर्ने बताए। 

उनले नेतृत्व पक्षसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएको दाबी गर्दै सदस्यता व्यवस्थापनदेखि विभिन्न समितिको गठनसम्मका विषयमा पुनः छलफल आवश्यक रहेको उल्लेख गरे।

कृष्णप्रसाद सिटौलाले पनि पार्टीभित्र डर र लोभको राजनीति बढेको टिप्पणी गर्दै संवादमार्फत समस्या समाधान गर्न सकिने बताए। उनले नेताहरूबीच प्रत्यक्ष संवादको अभावले विवाद गहिरिँदै गएको धारणा राखे।

भेलामा विजयकुमार गच्छदारले विगतका महाधिवेशन र आन्तरिक समीकरणको प्रसंग उठाउँदै नेतृत्व तहमा भएका राजनीतिक परिवर्तनबारे प्रश्न गरे। उनले पार्टीभित्र योगदान र अनुभवको सम्मान हुनुपर्नेमा जोड दिए।

यद्यपि, भेलामा कोशी प्रदेशका १४ जिल्लाका जिल्ला सभापतिहरू अनुपस्थित रहे। प्रदेश संसदीय दलका केही सांसद र नेताहरू मात्र कार्यक्रममा सहभागी भएका थिए। यसले संस्थापनइतर पक्षको प्रभाव र संगठनात्मक एकताको अवस्थाबारे थप बहस जन्माएको छ।

कार्यक्रममा डा. शशांक कोइरालाले पार्टीभित्रको दूरी बढ्दै गएको भन्दै एकताको प्रयासलाई प्राथमिकता दिनुपर्ने बताए। अर्कातर्फ केही नेताहरूले वर्तमान नेतृत्वमाथि असन्तुष्टि व्यक्त गर्दै कांग्रेसलाई सही दिशामा लैजान नयाँ सोच र कार्यशैली आवश्यक रहेको धारणा राखे।

विराटनगर भेलाबाट संस्थापनइतर पक्षले पार्टी फुटको पक्षमा नभई सम्मानजनक सहमति र एकताको पक्षमा रहेको सन्देश दिएको छ। यद्यपि, नेतृत्व पक्षसँगको संवाद र शक्ति सन्तुलनको आगामी दिशा कस्तो बन्छ भन्ने प्रश्न अझै खुला नै रहेको देखिएको छ।