काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन आन्तरिक विवाद र संगठनभित्रको असहमतिका कारण अन्योलमा परेको छ। पार्टीको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा मधेश प्रदेशको अधिवेशन समयमै सम्पन्न हुने सम्भावना न्यून देखिएको छ।

रास्वपा निर्वाचन आयोगले जेठ २६ गते सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी र विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गरिएको जनाएको थियो। आयोगका प्रमुख भुवन केसीका अनुसार राष्ट्रिय महाधिवेशनको मिति नजिक आइसकेकाले तत्काल अधिवेशन सञ्चालन हुने अवस्था नरहेको छ।

ad

मधेश प्रदेशमा देखिएको विवाद र दुई पक्षबीचको तनावका कारण पर्साबाहेक अन्य सात जिल्लाको अधिवेशन प्रक्रिया रोकिएको बताइएको छ। यद्यपि, प्रदेश नेतृत्वले महाधिवेशनअघि नै अधिवेशन सम्पन्न गराउने प्रयास जारी रहेको जनाएको छ। प्रदेश महामन्त्री मनिषकुमार साहले पार्टी नेतृत्व र निर्वाचन आयोगसँग आवश्यक समन्वय भइरहेको जानकारी दिए।

पार्टीभित्र अधिवेशन स्थगनको कारणबारे फरक–फरक धारणा देखिएका छन्। केही नेताहरूले निर्वाचित सांसदहरूको प्रभाव र हस्तक्षेपका कारण प्रक्रिया प्रभावित भएको बताएका छन् भने स्थानीय तहका नेताहरूले केही केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको स्वार्थका कारण विवाद चर्किएको आरोप लगाएका छन्।

यसबीच मधेश प्रदेशको पर्सा जिल्लामा भने विवादपूर्ण वातावरणकै बीच अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पर्सा–१ का प्रतिनिधिसभा सदस्य हरि पन्त पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनका क्रममा पन्त र पर्सा–२ का सांसद सुशील शाह निकट समर्थकहरूबीच झडप र हात हालाहालको स्थिति समेत सिर्जना भएको बताइएको छ।

यद्यपि, सभापति पन्तले पर्सामा निर्वाचन सम्पन्न हुनु नै सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै पार्टीभित्र कुनै गम्भीर विवाद नरहेको दाबी गरेका छन्।

राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा मधेश प्रदेश अधिवेशनलाई लिएर देखिएको विवादले रास्वपाको आन्तरिक व्यवस्थापन र संगठनात्मक एकतामाथि प्रश्न उठाएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।