काठमाडौं । नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले पार्टीका पूर्वअध्यक्षद्वय शंकर पोखरेल र योगेश भट्टराईलाई भावुक सन्देश दिँदै पार्टीको एकता, वैचारिक स्पष्टता र सामूहिक नेतृत्वको पक्षमा उभिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा झाँक्रीले दुवै नेताले विगतमा विभिन्न चुनौतीपूर्ण परिस्थितिलाई सफलतापूर्वक सामना गरेको स्मरण गर्दै अहिलेको परिस्थितिमा पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्। उनले देश, पार्टी सदस्य तथा मतदाताहरूको नजर अहिले उनीहरूमाथि रहेको उल्लेख गरेकी छन्।

ad

झाँक्रीले नेपाली समाजका जटिल समस्या र तिनका समाधानबारे पार्टीभित्र साझा दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिँदै नेताहरूलाई जनतामाझ पुगेर पार्टीलाई समयानुकूल अद्यावधिक गर्न सुझाव दिएकी छन्। उनले पार्टी नेतृत्वसँग सहमति र सहकार्यको वातावरण निर्माण गर्दै अगाडि बढ्नुपर्ने धारणा राखेकी छन्।

उनले एमाले कमजोर हुँदा देश र समाजमा पर्न सक्ने असरबारे सचेत गराउँदै समस्या कुनै एक व्यक्तिमा मात्र सीमित नरहेको उल्लेख गरेकी छन्। पार्टीभित्र र बाहिर दुवैतर्फ रहेका चुनौतीहरूको वस्तुपरक विश्लेषण आवश्यक रहेको उनको भनाइ छ।

झाँक्रीले पार्टीको दर्शन, सिद्धान्त, विचार र इतिहासको आधारमा मतभेद समाधान गर्नुपर्ने उल्लेख गर्दै पुराना असमझदारीलाई पछाडि छोडेर नयाँ ढंगले सोच्न आग्रह गरेकी छन्। उनले अध्यक्षसँग दूरी बढाउने नभई सहकार्यको सम्बन्धलाई थप मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

उनले शंकर पोखरेलले हालै प्रस्तुत गरेको राजनीतिक विश्लेषण आफूलाई प्रभावकारी लागेको उल्लेख गर्दै पार्टी नेतृत्व र अन्य नेताहरूबीच मूलभूत वैचारिक अन्तर नरहेको दाबी गरेकी छन्। एकअर्कालाई दोषारोपण गर्नुको सट्टा सामूहिक कमजोरी स्वीकार गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।

सन्देशको अन्त्यमा झाँक्रीले आफूले नेताहरूलाई ‘दाइ’ र पार्टी अध्यक्षलाई ‘बा’ भनेर सम्बोधन गरेको प्रसंग उल्लेख गर्दै एमालेमा फर्किएपछि कार्यकर्ताहरूबाट प्राप्त आत्मीय प्रतिक्रियाले आफू भावुक बनेको बताएकी छन्। उनले सबैको आ–आफ्नो स्थानमा महत्व रहेको भन्दै संकटको सामूहिक सामना गर्न र पार्टीलाई विभाजनतर्फ होइन, एकताको दिशातर्फ लैजान आग्रह गरेकी छन्।