काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला ले पार्टीभित्र देखिएका विवाद र मतभेदका बाबजुद कांग्रेसलाई विभाजन हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कांग्रेसको एकता जोगाउनु लोकतन्त्रको संरक्षणका लागि पनि आवश्यक रहेको बताएका छन्।

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस कमजोर भए मुलुकको लोकतान्त्रिक प्रणाली नै कमजोर हुने तर्क गरे। उनले अहिले कांग्रेस र लोकतन्त्र दुवैलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै त्यसप्रति सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे।

ad

कांग्रेसको स्थापना निरंकुश शासनको अन्त्य र लोकतन्त्रको संस्थागत विकासका लागि भएको स्मरण गराउँदै उनले पछिल्लो समय पार्टीभित्र नै लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बन्दै गएको टिप्पणी गरे। उनका अनुसार संगठनभित्र असहमतिलाई स्थान नदिने र नेतृत्व तहबाट एकपक्षीय निर्णयहरू हुन थालेको संकेत देखिएको छ।

क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर वडा तथा क्षेत्रीय तहका सभापतिमाथि कारबाही प्रक्रिया अघि बढाइनु आन्तरिक लोकतन्त्रमाथिको हस्तक्षेप भएको उनको आरोप थियो। यस्ता गतिविधिले पार्टीभित्र निरंकुश प्रवृत्ति मौलाउन सक्ने चेतावनी पनि उनले दिए।

विश्व राजनीतिमा लोकप्रियतावादको प्रभाव बढ्दै गएको उल्लेख गर्दै कोइरालाले त्यसको असर कांग्रेसभित्र पनि देखिन थालेको बताए। सामाजिक सञ्जालमा आफूलाई ढुलमुले नेताका रूपमा चित्रण गरिए पनि आफ्नो राजनीतिक अडान स्पष्ट रहेको उनको भनाइ थियो।

पार्टी नेतृत्वसँग भएको संवादबारे बोल्दै उनले सभापतिलाई पाँच बुँदे सहमतिको प्रस्ताव पठाएको जानकारी दिए। प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भए पनि त्यसलाई कार्यान्वयनतर्फ लैजाने गरी थप पहल नभएको भन्दै उनले असन्तुष्टि जनाए।

कोइरालाले पार्टीभित्रका सबै विवाद संवाद, सहमति र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिए। कांग्रेसको बल एकतामा रहेको उल्लेख गर्दै उनले विभाजन होइन, सहकार्य र समझदारीको बाटोबाट अघि बढ्न सबै पक्षलाई आह्वान गरे।