काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

महानगरले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित तथा नवप्रवर्तनमुखी स्मार्ट सहरका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण गर्दै आधुनिक सहरी विकासलाई गति दिने उद्देश्यसहित विभिन्न क्षेत्रगत कार्यक्रम समेटिएको महानगरले जनाएको छ।

ad

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले चालु आर्थिक वर्षमा अधुरा रहेका बहुवर्षीय योजनालाई निरन्तरता दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। 

महानगरका अनुसार आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन, दिगो सहरी विकास र सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिएको हो।

नीति तथा कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक घरबहाल व्यवस्थापनलाई औपचारिक प्रणालीमा ल्याउने योजना हो। महानगरभित्र भाडामा लगाइएका घर, जग्गा तथा अन्य संरचना र सम्पत्ति अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यससँगै घरबहाल कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन एकीकृत करदाता परिचय नम्बर (ट्याक्सपेयर आइडी) प्रदान गर्ने व्यवस्था पनि गरिने उल्लेख गरिएको छ।

सामाजिक सुरक्षातर्फ महानगरले ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा पूर्ण अशक्तता भएका नगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। यस कदमलाई सामाजिक सुरक्षा र मानवीय सेवाको विस्तारका रूपमा हेरिएको छ।

कार्यवाहक प्रमुख डंगोलले काठमाडौँलाई ‘मानवीयताको सहर’ बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकासका सबै योजनाको केन्द्रमा नागरिकको जीवनस्तर सुधारलाई राखिएको बताइन्। उनका अनुसार प्रविधिमैत्री प्रशासन, गुणस्तरीय सेवा प्रवाह, हरित पूर्वाधार, सांस्कृतिक सम्पदाको संरक्षण र नागरिकमैत्री व्यवस्थापनमार्फत संघीय राजधानी काठमाडौँलाई आधुनिक र व्यवस्थित महानगरका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले काठमाडाैँको मौलिक पहिचान जोगाउँदै आधुनिक सहरी आवश्यकता पूरा गर्ने प्रयास गरेको छ। संघीय राजधानीको रूपमा काठमाडौँको बढ्दो चुनौतीलाई सम्बोधन गर्दै दिगो, व्यवस्थित र समृद्ध महानगर निर्माणमा यो नीति तथा कार्यक्रम महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।