काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले प्रतिनिधिसभा सार्वभौम संस्था भएकाले आवश्यक परे सरकार गठन र विघटन गर्ने अधिकार संसद्सँग रहने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा राप्रपाकी सांसद खुस्बु ओलीले उठाएको प्रश्नको जवाफ दिँदै उनले वेस्टमिन्स्टर संसदीय प्रणालीअनुसार कार्यपालिका संसद्प्रति उत्तरदायी रहने स्पष्ट पारे।

ad

वाग्लेले भने, 'वेस्टमिन्स्टर प्रणालीमा कार्यपालिका गठन गर्ने थलो यही संसद् हो। त्यसैले यो सार्वभौम संस्था हो। मन नपरेको अवस्थामा सरकार ढाल्ने अधिकार पनि यही थलोमा निहित हुन्छ।'

उनका अनुसार संसदीय अभ्यासमा अंकगणितीय बहुमत र स्थापित राजनीतिक मान्यताहरूले सरकार गठन र सञ्चालनमा निर्णायक भूमिका खेल्छन्। दैनिक प्रशासनिक तथा नीतिगत सबै निर्णय संसद्मै ल्याउन सम्भव नहुने भएकाले लामो संसदीय अभ्यासबाट केही अधिकार कार्यपालिकालाई प्रत्यायोजन गरिएको उनले बताए।

उनले अन्तर्राष्ट्रिय अभ्यास उल्लेख गर्दै व्यापार सम्झौताजस्ता विषयमा प्रारम्भिक अधिकार कार्यपालिकासँग भए पनि अन्तिम स्वीकृति संसद्सँग रहने लोकतान्त्रिक परम्परा धेरै देशमा रहेको बताए।

अर्थमन्त्री वाग्लेले अन्त्यमा संसद्ले आवश्यक परे विद्यमान प्रणाली र कानुनी व्यवस्था परिवर्तन गर्न सक्ने अधिकार पनि राख्ने स्पष्ट पारे।