काठमाडौं । नेपाली कांग्रेसले विभिन्न नीति तथा समसामयिक विषयमा छलफल र समन्वयका लागि पाँच विषयगत उपसमिति गठन गर्दै संयोजकहरू तोकेको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको दुई दिनसम्म बसेको बैठकले प्रतिष्ठान प्रमुखको प्रस्तावअनुसार उपसमितिहरू गठन गरेको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकले पाँच विषयगत क्षेत्रमा केन्द्रित उपसमितिहरूलाई संयोजकसहित जिम्मेवारी तोकेको छ।

ad

नयाँ निर्णयअनुसार डायस्पोरा संवाद उपसमितिको संयोजकमा डा. यादव पण्डित चयन भएका छन्। यो उपसमितिले नागरिकता, लगानी र मतदान अधिकारसँग सम्बन्धित विषयमा विदेशमा रहेका नेपाली समुदायसँग नीति संवाद र समन्वय गर्नेछ।

त्यस्तै, स्वास्थ्य बीमा तथा सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन्। घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको नेतृत्व स्वीकृति पौडेलले पाएकी छन्।

सार्वजनिक यातायात र सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी चयन भएका छन् भने खेलकुद नीति संवाद उपसमितिको संयोजकको जिम्मेवारी विनोद दासलाई दिइएको छ।

प्रतिष्ठानको जेठ २७ र २८ गते बसेको बैठकले यी निर्णय गरेको कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।