परासी ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५  थारु टोलमा आज बिहान भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) हतियारसहित प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् ।

बिहान ७ बजेतिर एसएसबी प्रवेश गरेपछि स्थानीयले हो–हल्ला गर्दै खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए । स्थानीयसँग केही समय सामान्य वादविवाद गरेपछि एसएसबी भारततर्फ फर्किएका थिए । 

ad

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखेपछि स्थानीयले भारततर्फ जान र आफ्नो भूमिमा प्रवेश नगर्न भनेपछि केही समय विवाद भएको र पछि दुबै पक्षका सुरक्षाकर्मीको पहलमा समस्या समाधान गरिएको जानकारी दिए ।  स्थानीय प्रशासनले यस घटनाबारे आवश्यक जानकारी संकलन गरिरहेको जनाएको छ।