काठमाडौं । बैंकबाट लिएको कर्जा तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनमा प्रयोग गरेको आरोपमा जगदम्बा स्टील्स लिमिटेडका तीन सञ्चालक र एक व्यवसायीविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरिएको छ।

विशेष सरकारी वकील कार्यालयले नेपाल राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा शंकरलाल अग्रवाल, साहिल अग्रवाल, सुलभ अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो। अभियोगपत्रमा उनीहरूबाट करिब ४२ करोड १४ लाख रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ।

ad

अनुसन्धानअनुसार जगदम्बा स्टील्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी र अल्पकालीन कर्जाका रूपमा रकम लिएको थियो। उक्त कर्जाको उल्लेखनीय हिस्सा कम्पनीको व्यावसायिक प्रयोजनमा प्रयोग नगरी अन्यत्र स्थानान्तरण गरिएको आरोप लगाइएको छ।

अभियोगपत्रमा कम्पनीबाट ठूलो रकम दीपक भट्टको व्यक्तिगत खातामा पठाइएको र त्यसपछि विभिन्न खातामार्फत लगानी प्रयोजनमा प्रयोग गरिएको उल्लेख छ। अनुसन्धान निकायहरूको निष्कर्षअनुसार कर्जाको वास्तविक प्रयोग लुकाउन विभिन्न चरणमा रकम सार्ने प्रक्रिया अपनाइएको थियो।

राष्ट्र बैंकको सुपरीवेक्षण प्रतिवेदनले उक्त रकम औद्योगिक गतिविधिभन्दा बाहिर प्रयोग भएको देखाएको दाबी गरिएको छ। त्यसका लागि जग्गा खरिदसँग सम्बन्धित कागजातहरू प्रस्तुत गरिए पनि ती विवरणले वास्तविक कारोबार नझल्काएको अनुसन्धानको निष्कर्ष छ।

यद्यपि, प्रतिवादी दीपक भट्टले आफ्नो बयानमा उक्त रकम जग्गा खरिदका लागि अग्रिम भुक्तानीस्वरूप लिइएको र पछि सम्बन्धित कारोबार अघि नबढेपछि ब्याजसहित फिर्ता गरिएको दाबी गरेका छन्।

सरकारी वकील कार्यालयले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत कर्जा दुरुपयोग भएको जिकिर गर्दै बिगो बराबरको जरिवाना तथा कानुनअनुसार कैद सजायको मागसमेत गरेको छ।

मुद्दामा संलग्नमध्ये साहिल अग्रवाल र शंकरलाल अग्रवाल हाल सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतसँग अनुरोध गरिएको छ।

यो प्रकरण नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले गरेको विशेष निरीक्षणपछि बाहिर आएको हो। निरीक्षणका क्रममा कर्जाको उपयोगबारे शंका उत्पन्न भएपछि थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिइएको थियो।