
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्षका सांसदबीच विवाद उत्पन्न भएको छ।
बजेटसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले “यो कम्युनिस्टको बजेट होइन, हाम्रो बजेट हो” भन्ने अभिव्यक्ति दिएपछि एमाले सांसद साजिदा सिद्दीकीले नियमापत्ति जनाउँदै आपत्ति प्रकट गरिन्।
सिद्दीकीले उक्त अभिव्यक्तिले अघिल्ला कम्युनिस्ट नेतृत्वका सरकारहरूको योगदानलाई अवमूल्यन गरेको टिप्पणी गर्दै त्यसको अर्थ स्पष्ट पार्न माग गरिन्। उनले विगतका कम्युनिस्ट सरकारहरूकै पालामा नागरिक अधिकार र शान्तिपूर्ण वातावरण सुदृढ भएको दाबीसमेत गरिन्।
संसदमा बोल्दै उनले मन्त्रीहरूले सबै सांसदप्रति समान सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गर्दै आफ्नो धारणा प्रस्तुत गरिन्। उनले सांसदहरूलाई कम आँक्ने वा उपेक्षा गर्ने शैली उपयुक्त नहुने पनि बताइन्।
यता, सिद्दीकीको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले पनि नियमापत्ति गर्दै प्रतिक्रिया दिइन्। उनले अर्थमन्त्रीको भनाइलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको जिकिर गर्दै सिद्दीकीको केही टिप्पणी संसद्को अभिलेखबाट हटाउन माग गरिन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहेकै बेला अर्थमन्त्रीको अभिव्यक्ति र त्यसपछि उठेको नियमापत्तिले केही समय सदनको ध्यान तानेको थियो।










Facebook Comments