काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले आर्थिक विधेयकमा समावेश करका दरहरू पटक–पटक परिवर्तन गरिएको विषयलाई गम्भीर रूपमा उठाउँदै यसले संसदको अधिकारमाथि हस्तक्षेप भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै राईले आर्थिक विधेयक संशोधन गर्न स्पष्ट नीति, विधि र प्रक्रिया रहेको उल्लेख गरे। उनले संसदमा पेश भइसकेको विधेयकमा उल्लेखित करका दरहरू बारम्बार परिवर्तन गरिएको भन्दै अर्थमन्त्रीले संसदको अधिकारमा हस्तक्षेप गरेको आरोप लगाए।

ad

राईले करका दरमा गरिएको फेरबदललाई 'अक्षम्य गल्ती” को संज्ञा दिँदै यसको कारण र सम्भावित स्वार्थबारे स्पष्ट जवाफ माग गरे। “करका दरमा हेरफेर किन भयो र कसको स्वार्थमा भयो ?' भन्ने प्रश्न उठाउँदै उनले यस विषयमा गम्भीर छानबिन आवश्यक रहेको बताए।

उनका अनुसार संसदमा दर्ता भइसकेको विधेयकलाई मनोमानी ढंगले परिवर्तन गर्ने वा सच्याउने कार्य लोकतान्त्रिक प्रक्रिया विपरीत हुने भएकाले यसको सत्यतथ्य सार्वजनिक गरिनुपर्छ। उनले यस्ता गतिविधिलाई राजद्रोहसरहको कार्यको संज्ञा दिँदै जिम्मेवार पक्षमाथि अनुसन्धान र कारबाही हुनुपर्ने मागसमेत गरे।