काठमाडौं ।श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा आफूहरूलाई बोल्न नदिएको भन्दै विरोध जनाएका छन्। पार्टीका नेताहर्क साम्पाङले सभामुखबाट विभेदपूर्ण व्यवहार भएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्रमन्त्रीशिशिर खनालले जवाफ दिने क्रममा साम्पाङले आफ्नो धारणा राख्न समय मागेको बताएका थिए। तर सभामुखले उनको नाम वक्ताको सूचीमा समावेश नभएको र औपचारिक रूपमा समय नलिइएको भन्दै बोल्न अनुमति नदिएको जानकारी गराए।

ad

यस विषयमा सभामुख र साम्पाङबीच केहीबेर सवाल–जवाफ समेत भएको थियो। सभामुखले विरोध जनाउनु र बोल्नका लागि पूर्वअनुमति लिनु फरक प्रक्रिया भएको स्पष्ट पार्दै कार्यसूचीअनुसार बैठक अगाडि बढाएका थिए।

सभामुखको निर्णयप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरू संसद्को वेलमा पुगेका थिए। उनीहरूले सबै दल र सांसदलाई समान अवसर दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

सांसदहरूले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई अभिव्यक्ति राख्ने समान अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्। बैठक भने विरोधका बीच कार्यसूचीअनुसार अघि बढाइएको थियो।