काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपालले भारतको कुनै भूभाग अतिक्रमण गरेको भन्ने दाबीलाई तथ्यहीन बताएका छन्। उनले यस्तो विषयमा भ्रम फैलाउने अभिव्यक्तिप्रति सत्ता र प्रतिपक्ष दुवैले गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको वक्तव्यपछि धारणा राख्दै थापाले नेपालले भारतीय भूमि मिचेको पुष्टि गर्ने कुनै तथ्य वा प्रमाण नभएको बताए। उनले राष्ट्रिय सीमासम्बन्धी विषयमा राजनीतिक दलहरूबीच स्पष्ट र जिम्मेवार दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे।

ad

परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै थापाले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकार अझ स्पष्ट र दृढ रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे। राष्ट्रियताको पक्षमा आफ्नो पार्टीले संघर्ष जारी राख्ने उनले बताए।

नेता थापाले संसद्मा व्यक्त भएका केही विवादास्पद अभिव्यक्तिप्रति पनि ध्यानाकर्षण गराए। उनले यस्ता भनाइहरू सच्याउन सम्बन्धित दलका नेतृत्वले पहल गर्नुपर्ने र आवश्यक परे सभामुखले संसद्को अभिलेखबाट हटाउने प्रक्रिया अपनाउन सक्ने सुझाव दिए।