
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अब प्रधानमन्त्रीलाई खोज्दै संसद्को समय खर्च गर्न नचाहेको बताएका छन्। उनले मुलुकका ज्वलन्त मुद्दाहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा बढी महत्वपूर्ण भएकाले संसद्ले ती विषयमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको संसद्प्रतिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्रीलाई संसद्को आवश्यकता नलाग्न सक्ने भए पनि प्रतिपक्ष र जनताका लागि संसद् लोकतान्त्रिक बहसको मुख्य थलो भएको उनको भनाइ थियो।
उनले संसद्को अमूल्य समय प्रधानमन्त्रीको खोजीमा खर्चिनु उपयुक्त नहुने बताउँदै आगामी दिनमा आफू त्यसतर्फ केन्द्रित नहुने स्पष्ट पारे। साथै प्रधानमन्त्री पुनः अप्रत्याशित रूपमा संसद्मा उपस्थित भएर विवाद सिर्जना गर्ने शैली दोहोरिने हो कि भन्ने चिन्ता समेत व्यक्त गरे।
आङ्देम्बेले बजेटमाथिको छलफल, जनजीविकासँग सम्बन्धित प्रश्न तथा राष्ट्रिय सरोकारका विषयमा संसद्ले गम्भीर बहस गर्नुपर्ने आवश्यकता औंल्याए। लोकतान्त्रिक संस्थाको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको आग्रह थियो।
सीमा विवादमा सत्तापक्षमाथि प्रश्न
भाषणका क्रममा उनले नेपाल–भारत सीमा विवादको विषयमा सत्तापक्षका केही सांसदहरूको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। नेपालले आफ्नो भूमि गुमाएको विषयमा राष्ट्रिय एकता आवश्यक रहेको बेला केही सांसदहरूले उल्टै नेपालकै दाबीमाथि प्रश्न उठाएको आरोप उनले लगाए।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको विषय संसद्ले पारित गरेको नयाँ नक्सामार्फत स्थापित भइसकेको स्मरण गराउँदै उनले सीमा समस्याको समाधान भावनात्मक प्रतिक्रिया वा आरोप–प्रत्यारोपबाट नभई कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताए।
उनले यस विषयमा प्रतिपक्षले सधैं सरकारलाई सहयोग गर्ने अडान राखेको उल्लेख गर्दै सरकार र सत्तारुढ दलले समेत राष्ट्रिय हितका विषयमा समान गम्भीरता देखाउनुपर्ने धारणा व्यक्त गरे।
‘सांसदले प्रश्न गर्ने साहस गुमाउनु हुँदैन’
आङ्देम्बेले लोकतान्त्रिक व्यवस्थामा सांसदहरूको भूमिका सरकारको समर्थन मात्र नभई आवश्यक परे प्रश्न उठाउने पनि भएको बताए। विगतमा आफ्नै दल नेतृत्वको सरकार हुँदा कांग्रेस सांसदहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई सार्वजनिक रूपमा प्रश्न गर्ने गरेको उदाहरण प्रस्तुत गर्दै उनले सत्तापक्षका सांसदहरूलाई स्वतन्त्र र जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिए।
संसद्मा प्रश्न गर्ने संस्कृतिको ह्रास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। राष्ट्रिय हितसँग जोडिएका विषयमा दलगत स्वार्थभन्दा माथि उठेर बोल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संसद्लाई प्रभावकारी बहस र जवाफदेहिताको थलो बनाइराख्न सबै पक्षको समान जिम्मेवारी रहेको बताए।










Facebook Comments