
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूलाई ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य घोषणा गर्नुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू आउन थालेको दाबी गरिन्।
सांसद ओलीले नेपालमा बहुसंख्यक नागरिक सनातन धर्मावलम्बी रहेको उल्लेख गर्दै संविधानले दिएको अधिकारअनुसार नेपाललाई सनातन राज्य बनाउनुपर्ने धारणा संसदमा राखेको बताइन्। उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आफूविरुद्ध अपमानजनक र हिंसात्मक सन्देशहरू बढेको उनको भनाइ थियो।
उनले आफूले प्राप्त गरेका धम्कीहरूलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताउँदै यस्ता गतिविधिले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रश्न उठाएको उल्लेख गरिन्। व्यक्तिगत रूपमा यस्ता चुनौती सामना गर्न सक्ने भए पनि यसलाई आफ्नो मात्र विषयका रूपमा नहेर्न आग्रह गरिन्।
सांसद ओलीले धर्मनिरपेक्षताका नाममा फरक विचार राख्ने व्यक्तिमाथि धम्की र आक्रमणको वातावरण सिर्जना हुनु दुःखद भएको टिप्पणी गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिन्।
उनले संसदमार्फत आफ्ना धारणा राखेकै कारण धम्की आउनु लोकतान्त्रिक अभ्यासका लागि उचित नभएको बताउँदै सबै नागरिकको विचार अभिव्यक्त गर्ने अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिइन्।










Facebook Comments