
काठमाडौँ । नेपालको अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको तथ्याङ्कअनुसार विदेशी विनिमय सञ्चिति, विप्रेषण, शोधनान्तर स्थिति र राजस्व परिचालनमा उल्लेखनीय वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ भने चालु आर्थिक वर्षको दश महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत कायम भएको छ।
देशको कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २४ अर्ब १९ करोड बराबर रहेको राष्ट्र बैंकले जनाएको छ। हालको सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको उल्लेख गरिएको छ।
बाह्य क्षेत्र पनि सुदृढ देखिएको छ। समीक्षा अवधिमा चालु खाता ७२९ अर्ब २८ करोड रुपैयाँ र शोधनान्तर स्थिति ८६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ।
विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली मुद्रामा विप्रेषण ४१।२ प्रतिशत र अमेरिकी डलरमा ३३ प्रतिशतले बढेको छ। वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ।
विदेश व्यापारतर्फ निर्यात १४.२ प्रतिशतले बढ्दा आयात पनि १४.८ प्रतिशतले वृद्धि भएको छ। यद्यपि आयात वृद्धिदर निर्यातभन्दा केही बढी रहेको देखिएको छ।
सार्वजनिक वित्ततर्फ नेपाल सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ९ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
मौद्रिक सूचकअनुसार विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक विन्दुगत आधारमा यसको वृद्धिदर १५.२ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ९.४ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेप १६ प्रतिशत तथा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
ब्याजदरतर्फ बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६३ प्रतिशत रहेको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत तथा कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत कायम रहेको छ।
राष्ट्र बैंकका तथ्याङ्कले बाह्य क्षेत्र मजबुत बन्दै गएको, विप्रेषण आप्रवाह उच्च रहेको तथा बैंकिङ प्रणालीमा तरलता सहज अवस्थामै रहेको संकेत गरेका छन्।
पूर्णपाठ
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो ।
२. आर्थिक वर्ष २०८२/८३ को दश महिनाको औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति ४.३९ प्रतिशत रहेको थियो ।
३. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.६० प्रतिशत, घ्यू तथा तेलको १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६७ प्रतिशत र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।
४. गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९० प्रतिशत, यातायातको १५.३० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ४.७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।
५. समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.३५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२९ प्रतिशतले बढेको छ ।
६. प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६४ प्रतिशत, मधेश प्रदेशको ५.४७ प्रतिशत, बागमती प्रदेशको ४.५५ प्रतिशत, गण्डकी प्रदेशको ४.८६ प्रतिशत, लुम्बिनी प्रदेशको ५.३१ प्रतिशत, कर्णाली प्रदेशको ४.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६५ प्रतिशत रहेको छ ।
७. समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९० प्रतिशत, तराईको ५.५९ प्रतिशत, पहाडको ४.७३ प्रतिशत र हिमालको ३.७३ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति
८. २०८३ वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ३.९५ प्रतिशत रहेको थियो ।
९. समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.६३ प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १५.५९ प्रतिशत र ४.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.४७ प्रतिशतले बढेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
१०. २०८३ वैशाख महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत रहेको छ । सन् २०२६ अप्रिल महिनामा भारतमा यस्तो मुद्रास्फीति ३.४८ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई रु.२४८ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १६.१ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४१.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ, जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
१२. आर्थिक वर्ष २०८२र८३ को दश महिनामा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई रु.१६९२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
१३. आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल वस्तु व्यापार घाटा १४.९ प्रतिशतले वृद्धि भई रु.१४४३ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.७ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.८ प्रतिशत रहेको थियो ।
१४. समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१६० अर्ब ८० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१५२ अर्ब ४८ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
१५. बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.४ प्रतिशत, २९.८ प्रतिशत र ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६६.५ प्रतिशत, ३२.५ प्रतिशत र १.० प्रतिशत रहेको थियो ।
१६. समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८.३ प्रतिशत, ५२.४ प्रतिशत र ९.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३९.३ प्रतिशत, ५१.८ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
१७. वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा ३.१ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकाङ्कमा २४.० प्रतिशतले वृद्धि भएको छ । २०८३ वैशाख महिनामा व्यापारको सर्त १६.९ प्रतिशतले घटेको छ ।
सेवा
१८. समीक्षा अवधिमा खुद सेवा आय रु.६८ अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.७२ अर्ब १८ करोडले घाटामा रहेको थियो ।
१९. सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २.२ प्रतिशतले कमी भई रु. ७४ अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७५ अर्ब ८३ करोड रहेको थियो ।
२०. समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३.४ प्रतिशतले कमी भई रु.१७७ अर्ब ८७ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.१२० अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.१८४ अर्ब २२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.११२ अर्ब ३९ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
२१. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई रु.१९१६ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो । २०८३ बैशाख महिनामा विप्रेषण आप्रवाह रु.२५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१६५ अर्ब ३० करोड रहेको थियो ।
२२. समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
२३. समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२०९१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४८० अर्ब २८ करोड रहेको थियो ।
२४. समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३,३५,५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,२६,३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,०५,६१० र २,८०,३१४ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
२५. समीक्षा अवधिमा चालु खाता रु.७२९ अर्ब २८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२७२ अर्ब ५३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा रहेको छ ।
२६. समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१४ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१६ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१० अर्ब ५८ करोड रहेको थियो ।
२७. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.८६३ अर्ब ५६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४३८ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२८. २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई २०८३ बैशाख मसान्तमा रु.३७०४ अर्ब ५५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ बैशाख मसान्तमा २४.० प्रतिशतले वृद्धि भई २४ अर्ब १९ करोड पुगेको छ ।
२९. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८३ बैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई रु.३२९८ अर्ब ३८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८३ बैशाख मसान्तमा ५४.४ प्रतिशतले वद्धि भई रु.४०६ अर्ब १७ करोड कायम भएको छ । २०८३ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.६ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
३०. आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात र १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८३ बैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६०.७ प्रतिशत, १५९.७ प्रतिशत र ४३.३ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
३१. अन्तर्राष्ट्रिय बजारमा २०८२ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६५.९१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८३ बैशाख मसान्तमा ६८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११०.९१ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८२ बैशाख मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर ३१९१.९५ रहेकोमा २०८३ बैशाख मसान्तमा ४६.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४६८३.०५ पुगेको छ ।
विनिमय दर
३२. २०८२ असार मसान्तको तुलनामा २०८३ बैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १०.४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.१ प्रतिशतले अवमूल्यन भएको थियो । २०८३ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१५२.८४ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७ रहेको थियो ।
सरकारी वित्त स्थिति नेपाल सरकार खर्च तथा राजस्व
३३. नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दश महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.११७३ अर्ब ५२ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.८१४ अर्ब ६६ करोड, पँुजीगत खर्च रु.११३ अर्ब ८५ करोड र वित्तीय व्यवस्था खर्च रु.२४५ अर्ब २ करोड रहेको छ ।
३४. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.९८८ अर्ब ५५ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.८९३ अर्ब ५६ करोड र गैरकर राजस्व रु.९४ अर्ब ९९ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
३५. २०८३ वैशाख मसान्तमा यस बैंकमा रहेका नेपाल सरकारका विभिन्न खातामा रु.४१६ अर्ब ३६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात रु.१३७ अर्ब ७८ करोड रहेको थियो ।
प्रदेश सरकार
खर्च तथा राजस्व
३६. समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.८८ अर्ब ५३ करोड र स्रोत परिचालन रु.१६३ अर्ब ७४ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१२२ अर्ब २५ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.४१ अर्ब ४२ करोड रहेको छ ।
मौद्रिक स्थिति
मुद्राप्रदाय
३७. आर्थिक वर्ष २०८२/८३ को दश महिनामा विस्तृत मुद्राप्रदाय ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १५.२ प्रतिशतले बढेको छ ।
३८. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.८६३ अर्ब ५६ करोड (३२.४ प्रतिशत)ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.४३८ अर्ब ५२ करोड (२२.० प्रतिशत)ले बढेको थियो ।
खुला बजार कारोबार र नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गरी अधिक तरलता प्रशोचन गरिएकोले समीक्षा अवधिमा सञ्चित मुद्रा १.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ४.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा सञ्चित मुद्रा ९.० प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको आन्तरिक दाबी
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा कुल आन्तरिक दाबी ०.०३ प्रतिशतले घटेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो दाबी २.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा यस्तो दाबी ३.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी २४.१ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा यस्तो दाबी १५.० प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.५ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत (रु.६८५ अर्ब ४१ करोड) ले वृद्धि भई रु.७९४९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशत (रु.३९९ अर्ब ८१ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १६.० प्रतिशतले बढेको छ ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, ४६.२ प्रतिशत र ३८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको थियो ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.७ प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३५.४ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशत (रु.३१२ अर्ब) ले वृद्धि भई रु.५८०९ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.३ प्रतिशत (रु.३६८ अर्ब ६८ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ५.८ प्रतिशत, विकास बैंकहरूकोे ५.० प्रतिशत र वित्त कम्पनीहरूको २.९ प्रतिशतले बढेको छ ।
२०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.५ प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.६ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १२.८ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.३ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.३ प्रतिशत ले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ४.० प्रतिशत र क्यास क्रेडिट कर्र्जा ०.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ०.७ प्रतिशतले घटेको छ ।
तरलता व्यवस्थापन
आर्थिक वर्ष २०८२/८३ को दश महिना (२०८३ वैशाख सम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति छद्द। समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.२७९४ अर्ब, स्थायी निक्षेप सुविधामार्फत रु.३४,२७२ अर्ब ६० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु.२०० अर्ब गरी कुल रु.३७,२६६ अर्ब ६० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत रु.१२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद रु.३७,२५४ अर्ब १० करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु.१९,२३५ अर्ब ६५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ६ अर्ब ५२ करोड खुद खरिद गरी रु.९४६ अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गरी रु.५६४ अर्ब ११ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८२ करोड बिक्री गरी रु.५५५ अर्ब १० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी रु.४२४ अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
अन्तरबैंक कारोबार
आर्थिक वर्ष २०८२/८३ को दश महिनामा वाणिज्य बैंकहरूको रु.८३४ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रु.१४४ अर्ब ५५ करोड गरी कुल रु.९७९ अर्ब ४१ करोडको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु.१४७० अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरूको रु.१४९ अर्ब ६८ करोड गरी कुल रु.१६२० अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो ।
ब्याजदर
२०८२ वैशाख मसान्तमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.९५ प्रतिशत रहेकोमा २०८३ वैशाख मसान्तमा उक्त दर २.६३ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८२ वैशाख मसान्तमा ३.०० प्रतिशत रहेकोमा २०८३ वैशाख मसान्तमा २.७५ प्रतिशत रहेको छ ।
२०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.९७ प्रतिशत, विकास बैंकहरूको ६.९५ प्रतिशत र वित्त कम्पनीहरूको ७.३० प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.१७ प्रतिशत, विकास बैंकहरूको ८.२४ प्रतिशत र वित्त कम्पनीहरूको ९.११ प्रतिशत रहेको थियो ।
२०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकहरूको ३.७० प्रतिशत र वित्त कम्पनीहरूको ४.५९ प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत, विकास बैंकहरूको ५.११ प्रतिशत र वित्त कम्पनीहरूको ६.१५ प्रतिशत रहेको थियो । त्यसैगरी, २०८३ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकहरूको ७.८७ प्रतिशत र वित्त कम्पनीहरूको ९.१४ प्रतिशत रहेको छ । २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.११ प्रतिशत, विकास बैंकहरूको ९.४५ प्रतिशत र वित्त कम्पनीहरूको १०.३१ प्रतिशत रहेको थियो ।
वित्तीय पहुँच
२०८३ वैशाख मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,५२६ रहेकोमा २०८३ वैशाख मसान्तमा ११,३५९ रहेको छ ।
२०८३ वैशाख मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड २७ लाख २३ हजार ७७ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ३७ हजार ४३५ रहेको छ ।
वित्तीय सबलता सूचक
२०८३ वैशाख मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.७६ प्रतिशत र १२.७० प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५.८८ प्रतिशत रहेको छ । २०८२ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६० प्रतिशत रहेको छ ।
विद्युतीय कारोबार
२०८३ वैशाख महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ६ लाख कारोबारमार्फत रु.८२ अर्ब ९३ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ७ करोड ८९ लाख कारोबारमार्फत रु ६१२ अर्ब ३९ करोड कारोबार भएको छ । साथै, क्यु–आर कोड भुक्तानीअन्तर्गत ५ करोड ९३ लाख कारोबारमार्पmत रु १६२ अर्ब ५८ करोड कारोबार भएको छ ।
पुँजी बजार
२०८२ वैशाख मसान्तमा २६२०.२७ रहेको नेप्से सूचकाङ्क २०८३ वैशाख मसान्तमा २७३०.१८ कायम भएको छ ।
२०८३ वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४६५६ अर्ब ४५ करोड कायम भएकोे छ । २०८२ वैशाख मसान्तमा बजार पुँजीकरण रु.४३५८ अर्ब ७१ करोड रहेको थियो । २०८२ को वैशाख मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७०.३० प्रतिशत रहेकोमा २०८३ वैशाख मसान्तमा ७०.५५ प्रतिशत रहेको छ ।
२०८३ वैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २९४ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ वैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५०.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.६ प्रतिशत, होटेलको हिस्सा ३.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ वैशाख मसान्तमा सूचीकृत ९ अर्ब ४८ करोड शेयरको चुक्ता मूल्य रु.९३४ अर्ब ८ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२र८३ को दश महिनामा रु.४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर, रु.४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु.२७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु.९७ करोड १७ लाख बराबरको एफपीओ र रु.२ करोड २९ लाख बराबरको अन्य गरी कुल रु.१ खर्ब ३६ अर्ब ३० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, रु.९ अर्ब १२ करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२० करोडको डिबेन्चर र रु.५ करोडको एफपीओ गरी कुल रु.४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।




Facebook Comments