
काठमाडौं । समस्याग्रस्त सहकारी संस्थामा बचत फसेका थप २१६ जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम वितरण गरेको जनाएको छ।
समितिका अनुसार सहकारीबाट असुल गरिएको ऋण तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमको आधारमा बचतकर्तालाई चरणबद्ध रूपमा भुक्तानी गरिएको हो। आज रकम प्राप्त गर्ने सबै बचतकर्ता साना बचतकर्ता समूहअन्तर्गतका रहेका छन्।
सरकारले सुरुआती चरणमा न्यून रकम बचत गरेका व्यक्तिलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ। आगामी दिनमा बचत रकमको आकारअनुसार वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने समितिको भनाइ छ।
तथ्यांकअनुसार समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।
समितिले पाँच लाख रुपैयाँसम्म बचत गर्ने व्यक्तिलाई साना बचतकर्ता र सोभन्दा बढी रकम बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ। कुल बचतकर्तामध्ये पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्नेको संख्या करिब १८ हजार रहेको जनाइएको छ।
समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली, सम्पत्ति बिक्री तथा व्यवस्थापनबाट प्राप्त स्रोतका आधारमा कानुनी प्रक्रिया अनुरूप बचत फिर्ता गर्ने कार्य निरन्तर जारी रहेको समितिले जनाएको छ।
हालसम्म विभिन्न समस्याग्रस्त सहकारीका १ हजार ३१३ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेको समितिको तथ्यांकमा उल्लेख छ।









Facebook Comments