काठमाडौं– नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले स्वास्थ्य क्षेत्रको नियमन, चिकित्सक दर्ता, कानुनी सुधार तथा डिजिटल व्यवस्थापनलाई केन्द्रमा राख्दै १८ वटा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले आगामी आर्थिक वर्षदेखि चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा काठमाडौं उपत्यकाबाहिर पनि सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै, अवैध चिकित्सकीय अभ्यास नियन्त्रणका लागि ‘एन्टी–क्वेकरी गाइडलाइन २०८३’ लाई सैद्धान्तिक स्वीकृति प्रदान गर्दै थप कानुनी प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरिएको छ।

ad

काउन्सिलले देशभरका चिकित्सकहरूको एकीकृत डिजिटल अभिलेख तयार गर्न ‘नेशनल मेडिकल रजिस्ट्री’ निर्माण प्रक्रिया अघि बढाउने भएको छ। यसअन्तर्गत चिकित्सकहरूको शैक्षिक विवरण र डिग्रीसम्बन्धी जानकारी काउन्सिलको वेबसाइटमार्फत नियमित अद्यावधिक गरिनेछ।

निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेका अनुसार काउन्सिलको ऐन तथा नियमावली परिमार्जनका लागि कार्यवाहक अध्यक्ष डा. कुन्जाङ शेर्पाको नेतृत्वमा कार्यदल गठन गरिएको छ, जसले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउनेछ।

काउन्सिलका १८ निर्णय

१. स्वागत तथा बिदाइ

नेपाल चिकित्सक संघका नवनिर्वाचित अध्यक्षलाई पदेन सदस्यका रूपमा स्वागत गर्दै शपथ गराइयो।
निवर्तमान अध्यक्षलाई योगदानका लागि धन्यवाद ज्ञापनसहित बिदाइ गरियो।

२. लाइसेन्स परीक्षा

७५औँ चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजा अनुमोदन गरियो।
परीक्षा सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरियो।

३. वार्षिक नीति तथा कार्यक्रम

आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरियो।

४. ऐन तथा नियमावली संशोधन

काउन्सिलको ऐन तथा नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन गरियो।
कार्यदलले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ।

५. अवैध चिकित्सकीय अभ्यास नियन्त्रण

‘एन्टी–क्वेकरी गाइडलाइन २०८३’ लाई सैद्धान्तिक स्वीकृति दिइयो।
कानुनी रायपछि अन्तिम रूप दिएर मन्त्रालयमा पठाइनेछ।

६. नेशनल मेडिकल रजिस्ट्री

चिकित्सकहरूको शैक्षिक योग्यता तथा डिग्री वेबसाइटमा अद्यावधिक गरिनेछ।
सबै दर्ता चिकित्सकको डिजिटल प्रोफाइल तयार गरी राष्ट्रिय अभिलेख प्रणाली विकास गरिनेछ।

७. Elective Posting

नेपालमा अध्ययन वा प्रशिक्षणका लागि आउने विदेशी मेडिकल विद्यार्थीको दर्ता प्रक्रिया परिमार्जन गरिनेछ।
यसबारेको प्रस्ताव आगामी बैठकमा पेश गरिनेछ।

८. विदेशी चिकित्सक दर्ता

नेपालबाट अध्ययन पूरा गरी लाइसेन्स परीक्षा उत्तीर्ण गरेका विदेशी चिकित्सकलाई Acknowledgement Letter प्रदान गरिनेछ।
नेपालमा अभ्यास गर्न आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिनेछ।

९. CPD र Skill-Based Licensing

लाइसेन्स नवीकरण तथा CPD प्रणालीसम्बन्धी कार्ययोजना तयार गरिनेछ।
सीपमा आधारित लाइसेन्स प्रणालीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।

१०. स्वास्थ्य संस्था निरीक्षण

विभिन्न डेन्टल क्लिनिक तथा स्वास्थ्य संस्थाको निरीक्षण प्रतिवेदन अनुमोदन गरियो।
निरीक्षण टोलीका निर्देशन कार्यान्वयन गराउने जिम्मेवारी निमित्त रजिस्ट्रारलाई दिइयो।

११. निलम्बनसम्बन्धी विषय

निलम्बित एक चिकित्सकको विषयमा थप अध्ययन, छानबिन र कानुनी परामर्श गरिनेछ।

१२. परीक्षा विकेन्द्रीकरण

लाइसेन्स परीक्षा विकेन्द्रीकरणसम्बन्धी अध्ययन प्रतिवेदन स्वीकृत गरियो।
आगामी आर्थिक वर्षदेखि काठमाडौंबाहिर पनि परीक्षा सञ्चालन गरिने निर्णय गरियो।

१३. Medico-Legal Unit

मेडिको–लिगल युनिटको संरचना, कार्यक्षेत्र र सञ्चालन कार्यविधि तयार गरिनेछ।

१४. आर्थिक तथा खरिद विनियामावली

आर्थिक तथा खरिदसम्बन्धी विनियामावली २०८० पारित गरी अन्तिम स्वीकृतिका लागि मन्त्रालय पठाइनेछ।

१५. बक्यौता रकम असुली

शुल्क तथा बक्यौता नतिर्ने मेडिकल, डेन्टल र शिक्षण संस्थालाई भुक्तानीका लागि पत्राचार गरिनेछ।

१६. दर्ता आवेदन अध्ययन

विदेशी चिकित्सकको दर्ता प्रक्रिया र परीक्षा प्रावधानबारे संयुक्त अध्ययन गरी प्रतिवेदन तयार गरिनेछ।

१७. लेखापरीक्षण

आर्थिक वर्ष २०८२/८३ को आन्तरिक तथा बाह्य लेखापरीक्षणका लागि प्रस्ताव आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ।

१८. मृत्यु प्रमाणपत्रसम्बन्धी व्यवस्था

ज्येष्ठ नागरिक स्याहार गृहमा कार्यरत चिकित्सकले प्रत्यक्ष मृत्यु प्रमाणपत्र जारी गर्न नपाउने राय स्वास्थ्य सेवा विभागलाई पठाइनेछ।
त्यस्तो अवस्थामा नजिकको स्वीकृत अस्पताल वा कानुनी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको छ।