
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको बाह्य क्षेत्रका सूचकहरू उल्लेखनीय रूपमा सुदृढ बनेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार चालु खाता ७ खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा रहेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै उच्च हो। गत वर्ष यही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो।
अमेरिकी डलरमा गणना गर्दा चालु खाताको बचत ५ अर्ब ५ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब १ करोड डलर थियो। यसले नेपालको बाह्य क्षेत्र थप मजबुत बन्दै गएको संकेत गरेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। वैशाखसम्म यस्तो ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो ८ अर्ब ४८ करोड रुपैयाँ थियो।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत इक्विटी लगानीमा समेत सुधार देखिएको छ। चालु आवको १० महिनामा १६ अर्ब ९६ करोड रुपैयाँ बराबरको इक्विटी लगानी नेपाल भित्रिएको छ। गत वर्ष यही अवधिमा यस्तो लगानी १० अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो।
यस्तै, शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट) पनि उल्लेखनीय रूपमा सकारात्मक रहेको छ। राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा हेर्दा शोधनान्तर बचत ५ अर्ब ९८ करोड डलर पुगेको छ। गत वर्ष सोही अवधिमा यो ३ अर्ब २३ करोड डलर थियो।
रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धि, बाह्य आम्दानीमा सुधार तथा विदेशी मुद्रा प्रवाह बढेकाले चालु खाता र शोधनान्तर स्थितिमा उल्लेखनीय सुधार देखिएको राष्ट्र बैंकको तथ्यांकले संकेत गरेको छ।









Facebook Comments