काठमाडौं । प्रतिनिधिसभामा रहेका प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्याइएन भने संसद् अवरोधको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेका छन्।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा लिँदै त्यसलाई तत्काल फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएको हो।

ad

बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको निष्कर्ष विपक्षी दलहरूको रहेको बताए। उनका अनुसार प्रधानमन्त्रीले संसद्मार्फत देशवासीसँग माफी माग्नुपर्ने, साथै उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग पनि यथावत् राखिएको छ।

विपक्षी दलहरूले संसद्को गतिरोध अन्त्य गर्न सरकारको तर्फबाट आवश्यक पहल नभएको निष्कर्ष समेत निकालेका छन्। यद्यपि, सदन सञ्चालनका विषयमा सत्तापक्षबाट विभिन्न प्रस्ताव आएको भन्दै ती विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने पक्षमा विपक्षी दलहरू देखिएका छन्।

बैठकमा करका दर परिवर्तनसँग सम्बन्धित विषयमा पनि गम्भीर चासो व्यक्त गरिएको थियो। विपक्षी दलहरूले उक्त विषयको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा साझा धारणा बनाएका छन्।

श्रम संस्कृति पार्टीबाहेक प्रतिनिधिसभामा रहेका अन्य विपक्षी दलका सांसदहरू बैठकमा सहभागी भएको जनाइएको छ।