काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा भित्रिएको रेमिट्यान्सले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्म रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

विशेषगरी वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्म एकै महिनामा प्राप्त भएको सबैभन्दा ठूलो रकम हो। अघिल्लो आर्थिक वर्षको सोही महिनामा नेपालले १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो।

ad

विदेशी मुद्रामा पनि रेमिट्यान्सको वृद्धि उल्लेखनीय देखिएको छ। अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ। गत वर्ष यही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि दर १०.६ प्रतिशत मात्र थियो।

राष्ट्र बैंकका अनुसार वैशाखसम्म खुद द्वितीय आय (नेट ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ थियो।

यद्यपि रेमिट्यान्समा उत्साहजनक वृद्धि भए पनि वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको देखिएको छ। चालु आवको वैशाखसम्म ३ लाख ३५ हजार ५१० जनाले पहिलोपटक वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। गत वर्ष यही अवधिमा यस्तो संख्या ४ लाख ५ हजार ६१० थियो।

अर्कोतर्फ, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढ्दो क्रममा छ। वैशाखसम्म ३ लाख २६ हजार ३६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो संख्या २ लाख ८० हजार ३१४ रहेको थियो।

तथ्यांकले रेमिट्यान्स आप्रवाहमा तीव्र वृद्धि भइरहे पनि नयाँ श्रमिकको विदेश प्रस्थान केही सुस्ताएको र पहिलेदेखि विदेशमा रहेका कामदारहरूको पुनः रोजगारी निरन्तर बढिरहेको संकेत गरेको छ।