काठमाडौं । जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सहकारी ठगी सम्बन्धी मुद्दामा रहेको संगठित अपराधको आरोप हटाउने आदेश दिएको छ।

महान्यायाधिवक्ताको निर्णयअनुसार सरकारी वकिलको कार्यालयले आरोपपत्र संशोधनका लागि अदालतमा निवेदन दर्ता गरेको थियो। सोही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र परिमार्जन गर्न अनुमति दिएको हो।

ad

पर्साका जिल्ला न्यायाधीवक्ता मोहनप्रसाद गुप्ताका अनुसार अदालतको आदेशपछि मुद्दामा संगठित अपराधसम्बन्धी कसुर हटेको छ भने सहकारी ठगीसम्बन्धी आरोप यथावत् रहनेछ।

यस निर्णयसँगै सानो पाइला सहकारी प्रकरणमा आरोपित र पीडित पक्षबीच मिलापत्रको सम्भावना खुलेको छ। कानुनी व्यवस्था अनुसार दुवै पक्षबीच सहमति भएमा मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउन सकिनेछ।

गत असार १ गते सरकारी वकिलको कार्यालय, पर्साले सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा ५ करोड ७४ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो।