
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई नयाँ सदस्य समावेश गरेका छन्। मंगलबार गरिएको हेरफेरसँगै सरकारको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुधन गुरुङलाई गृहमन्त्री तथा महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका हुन्।
नयाँ नियुक्तिसँगै मन्त्रिपरिषद्को वरीयतामा पनि केही व्यवस्था गरिएको छ। गृहमन्त्री बनेका गुरुङलाई पाँचौँ स्थानको वरीयता दिइएको छ। यसअघि पदबाट अलग हुनुअघि पनि उनी मन्त्रिपरिषद्मा पाँचौँ वरीयतामा थिए।
छानबिन प्रक्रियापछि उनीमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष आएपछि गुरुङ पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्। यद्यपि, पहिलोपटक गृहमन्त्री नियुक्त हुँदा उनी तेस्रो वरीयतामा रहेका थिए। त्यसबेला उठेको असन्तुष्टिपछि उनको वरीयता पाँचौँमा कायम गरिएको थियो।
यता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्न आएका महावीर पुनलाई मन्त्रिपरिषद्को वरीयतामा आठौँ स्थान दिइएको छ।
मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री शाहले आफ्नो टोलीलाई पूर्णता दिएका छन्।











Facebook Comments