काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वस्तु निर्यात उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार वैशाखसम्म कुल २ खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरका वस्तु विदेश निर्यात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.२ प्रतिशतले बढी हो।

गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात १६.१ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.५ प्रतिशतले बढेको छ। तर चीनतर्फको निर्यात भने ४१.७ प्रतिशतले घटेको देखिएको छ।

ad

निर्यात हुने वस्तुमध्ये भटमासको तेल, अलैंची, पाम तेल, चाउचाउ र जुटजन्य सामग्रीको माग बढेको छ। विपरीत रूपमा जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामग्रीको निर्यातमा कमी आएको छ।

यता, आयात पनि बढ्दो क्रममा रहेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। भारत, चीन र अन्य मुलुकबाट हुने आयात क्रमशः १०.६ प्रतिशत, २१.४ प्रतिशत र २०.७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, चाँदी, सवारी साधन तथा तिनका स्पेयर पार्ट्स, यातायातका उपकरण र भटमासको कच्चा तेलको आयात बढेको छ। तर हट रोल्ड शिट, खाने तेल, लसुन, दाल तथा फलामजन्य केही सामग्रीको आयात घटेको छ।

निर्यात बढे पनि आयातको आकार अझै ठूलो भएकाले व्यापार घाटा विस्तारिएको छ। १० महिनाको अवधिमा कुल व्यापार घाटा १४.९ प्रतिशतले बढेर १४ खर्ब ४३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा ६.७ प्रतिशतले मात्र बढेको थियो।

यस अवधिमा निर्यात–आयात अनुपात १४.७ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको १४.८ प्रतिशतको तुलनामा सामान्य रूपमा घटेको हो।

त्यसैगरी, भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ६० अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। गत वर्ष सोही अवधिमा यस्तो आयात १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो।