काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ।

आज मंगलबार जरुरी सूचना जारी गर्दै मधेस प्रदेश अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत रूपमा सम्पन्न गर्न सुनिश्चित गर्नुपर्ने देखिएकाले हाललाई सबै प्रक्रिया रोकिएको जनाएको हो । 

ad

सूचनाअनुसार प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिमा यो निर्णय लागू हुनेछ।

पछिल्लो समय नेतृत्व चयनको विषयलाई लिएर मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विवाद देखिएपछि आयोगले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। अधिवेशन पुनः सञ्चालन हुने मिति, समय र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले पछि आधिकारिक जानकारी दिनेछ। आयोगले अर्को निर्देशन नभएसम्म अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि, उम्मेदवार तथा प्रदेश र जिल्ला तहका नेता९कार्यकर्ताहरूलाई आग्रह गरेको छ।