काठमाडौं । यशोधा फुड्स प्रालिले गुणस्तरसम्बन्धी प्रश्न उठेको निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित रहेको स्पष्ट पारेको छ।

कम्पनीले जारी गरेको सूचनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन ठहर गरेको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम को उत्पादन मिति २०२६/०२/२३ र ब्याच नम्बर ०४ए भएको उत्पादनमा मात्र समस्या देखिएको स्पष्ट पारेको छ।

ad

कम्पनीका अनुसार उक्त मिति र ब्याच नम्बरको उत्पादनबाहेक अन्य सबै ब्याचका करेन्ट चाउचाउ खाद्य मापदण्डअनुसार उत्पादन गरिएका र उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेका छन्। यशोधा फुड्सले जारी गरेको सूचनामा भनिएको छ, “खाद्य तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए को करेन्ट हट एण्ड स्पाइसी १०० ग्रामबाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ।”

कम्पनीले उपभोक्ता, विक्रेता तथा आधिकारिक वितरकहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै अन्य सबै उत्पादनको बिक्री–वितरण र उपभोग नियमित रूपमा जारी राख्न अनुरोध गरेको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षणका क्रममा उक्त निश्चित ब्याचको चाउचाउमा गुणस्तरसम्बन्धी समस्या फेला परेको जनाउँदै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। त्यसपछि कम्पनीले स्पष्टीकरणसहित सूचना जारी गर्दै अन्य उत्पादन सुरक्षित रहेको जनाएको हो।

कम्पनीले उपभोक्ताको स्वास्थ्य र गुणस्तरप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।