
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू परिवर्तन हुने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीभित्र बढ्दो असन्तुष्टि सम्बोधन गर्न कांग्रेस कोटाका सबै मन्त्रीलाई फेर्ने तयारी गरेका छन्।
पार्टीभित्र लामो समयदेखि अवसर वितरण र सरकारमा सहभागिताको विषयलाई लिएर उठ्दै आएको असन्तुष्टिलाई व्यवस्थापन गर्न नयाँ मन्त्रीहरूको नाम टुङ्गो लगाइएको स्रोतले जनाएको छ। नयाँ मन्त्रीहरूको शपथ ग्रहणको तयारीसमेत अघि बढाइएको बताइएको छ।
स्रोतका अनुसार अछामका मानबहादुर रावल र कञ्चनपुरका बेलबहादुर राना मन्त्री बन्ने लगभग निश्चित भएको छ। त्यस्तै बाजुराकी जुना दानीलाई राज्यमन्त्रीको जिम्मेवारी दिने सहमति बनेको जनाइएको छ।
कांग्रेस नेतृत्वले मन्त्रीमण्डल पुनर्गठनमार्फत पार्टीभित्रको असन्तुष्टि कम गर्ने र क्षेत्रीय तथा राजनीतिक सन्तुलन कायम गर्ने प्रयास गरेको बुझिएको छ। नयाँ अनुहारलाई अवसर दिएर संगठनभित्र सकारात्मक सन्देश प्रवाह गर्ने रणनीतिमा मुख्यमन्त्री शाह रहेको निकट स्रोतको भनाइ छ।
यता सत्ता साझेदार नेकपा एमालेले भने तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेको छ। केही दिनअघि एमालेले नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने चर्चा चले पनि अन्तिम समयमा आएर हालका मन्त्रीहरूलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताइएको छ।
एमालेको निर्णयपछि प्रदेश सरकारमा यसपटकको पुनर्गठन मुख्यतः कांग्रेसभित्र सीमित हुने देखिएको छ। कांग्रेसका नयाँ मन्त्रीहरूले छिट्टै पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको प्रदेश सरकार स्रोतले जनाएको छ।
सुदूरपश्चिम सरकारमा हुन लागेको यो फेरबदललाई कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ। साथै, नयाँ मन्त्रीहरूको आगमनसँगै सरकारको कार्यशैली र राजनीतिक समीकरणमा समेत केही परिवर्तन आउने अपेक्षा गरिएको छ।










Facebook Comments