काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशस्तरीय पहिलो अधिवेशन मंगलबार मकवानपुरको हेटौँडामा सुरु हुँदैछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको छ।

प्रदेश सभापति अच्युतम लामिछानेका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ र एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।

ad

“पहिलो प्रदेश अधिवेशन भएकाले कार्यकर्ता र प्रतिनिधिमा विशेष उत्साह देखिएको छ। आवश्यक तयारी पूरा भइसकेको छ,” उनले बताए।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भए पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना न्यून देखिएको नेताहरूको भनाइ छ। वर्तमान सभापति लामिछाने स्वयं पुनः नेतृत्वमा दोहोरिने इच्छासहित मैदानमा उत्रने तयारीमा छन्।

उनका अनुसार नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बलियो छ। उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएपछि प्रतिस्पर्धीहरूको संख्या र समीकरण थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

पार्टी स्रोतका अनुसार प्रदेश सभापति पदका लागि हालका प्रदेश प्रवक्ता उत्सव अर्यालले पनि आकांक्षा व्यक्त गरेका छन्। उनी मकवानपुरका भएकाले नेतृत्व तहमा सर्वसम्मत सहमति जुटाउने प्रयाससमेत भइरहेको बताइन्छ।

यस्तै, स्वास्थ्य विभाग प्रमुख डा. रमेश ढकाल पनि प्रदेश नेतृत्वको दौडमा रहेका छन्। शंकरापुर अस्पतालका सञ्चालकसमेत रहेका ढकाललाई नेतृत्व टोलीको महत्वपूर्ण जिम्मेवारीमा समेट्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतको दाबी छ।

महामन्त्री पदमा भने दिनेश भट्टले रुचि देखाएको बताइएको छ। अधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनका लागि विभिन्न समूहबीच संवाद र समीकरण निर्माणको प्रक्रिया तीव्र बनेको छ।

रास्वपाको बागमती प्रदेश अधिवेशनलाई पार्टीको संगठन विस्तार र प्रदेशस्तरीय नेतृत्व निर्माणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।