पोखरा : नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वर्तमान सरकारप्रति निजी क्षेत्रका केही आशंका अझै बाँकी रहे पनि नयाँ बजेटमा समेटिएका नीतिगत व्यवस्थाले सरकार र निजी क्षेत्रबीच सहकार्यको सम्भावना बढाएको बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा नवप्रवर्तन, उद्यमशीलता तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसलाई सकारात्मक पक्षका रूपमा व्याख्या गरे।

ad

यद्यपि, सम्पत्ति शुद्धीकरणका नाममा उद्योगी–व्यवसायीमाथि भइरहेको कारबाहीप्रति उनले चिन्ता व्यक्त गरे। उनका अनुसार अन्तर्राष्ट्रिय नियामक निकायको दबाबका कारण मुलुकलाई सम्भावित कालोसूचीबाट जोगाउने प्रयास भइरहे पनि त्यसको बहानामा निजी क्षेत्रलाई अनावश्यक दबाबमा पारिनु उचित नहुने बताए।

“निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र कानुनको पालना गर्नुपर्छ। तर कुनै पनि विषयमा निष्कर्षमा पुग्नुअघि सम्बन्धित पक्षको कुरा सुन्ने र तथ्य बुझ्ने अभ्यास राज्यले अवलम्बन गर्नुपर्छ,” उनले भने।

अध्यक्ष श्रेष्ठले संविधान संशोधनको बहस चलिरहेका बेला सामाजिक न्याय र निजी क्षेत्रमैत्री आर्थिक प्रणाली निर्माणका विषयमा महासंघले स्पष्ट धारणा राख्ने बताए। उनले लगानी, उद्योग र उत्पादनमुखी वातावरण निर्माणका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पनि सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक सुधारको आशा जगाए पनि व्यवहारमा भने केही चिन्ताजनक संकेत देखिएको बताए। उनले सुशासन र वित्तीय अनुशासनका नाममा निजी क्षेत्रलाई मात्र लक्ष्य बनाउने प्रवृत्ति उचित नहुने उल्लेख गरे।

मुल्मीले निजी क्षेत्रले जनताको अपेक्षा र उपभोक्ताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए। साथै कानुन कार्यान्वयनका क्रममा राज्य स्वयंले कानुनी प्रक्रिया र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए।

उनले महासंघलाई अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय भूमिका खेल्न सुझाव दिँदै मुलुकको आर्थिक छवि सुधार र सम्भावित कालोसूचीकरणबाट जोगाउन कूटनीतिक पहल आवश्यक रहेको बताए।

संविधान र आर्थिक नीतिका विषयमा पनि निजी क्षेत्र स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। लगानी आकर्षित गर्ने वातावरण निर्माण, निजी क्षेत्रको भूमिका विस्तार तथा आर्थिक प्रतिस्पर्धात्मकता अभिवृद्धिका लागि नीतिगत पुनरावलोकन आवश्यक रहेको उनले उल्लेख गरे।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ पोखरास्थित औद्योगिक घराना लक्ष्मी समूहका निर्देशकसमेत हुन्।