काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई फिफाको बैठक तथा विश्वकप अवलोकनका लागि विदेश जान अनुमति नदिएको जनाएको छ।

राखेपका सदस्यसचिव रामचन्द्र मेहेताका अनुसार नेपाल फुटबलमा देखिएको विवाद समाधान नभएसम्म एन्फाका वर्तमान पदाधिकारीले संस्थाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन नमिल्ने निर्णय गरिएको हो।

ad

अन्नपूर्ण पोस्टसँगको कुराकानीमा उनले एन्फा अध्यक्ष र महासचिवले फिफाको बैठक तथा विश्वकप अवलोकनका लागि अनुमति मागे पनि उक्त प्रस्ताव अस्वीकृत गरिएको जानकारी दिए।

“उहाँहरूले फिफाको बैठक र विश्वकपमा जान अनुमति माग्नुभएको थियो। तर, एन्फासम्बन्धी विवाद समाधान नभएसम्म त्यस्तो अनुमति दिन सकिने अवस्था छैन,” मेहेताले भने।

उनका अनुसार एन्फा कार्यसमितिका सदस्यहरूको पासपोर्ट कालोसूचीमा राखिएको अवस्थामा उनीहरूलाई विदेश भ्रमणको अनुमति दिन नमिल्ने कानुनी व्यवस्था रहेको छ।

“पासपोर्ट कालोसूचीमा रहेकाले कार्यसमितिका पदाधिकारी विदेश जान मिल्दैन। यदि उहाँहरू व्यक्तिगत रूपमा जान चाहनुहुन्छ भने पहिले पदबाट राजीनामा दिनुपर्छ,” उनले स्पष्ट पारे।

सन् २०२६ को फिफा विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ। त्यसअघि हुने फिफाका विभिन्न औपचारिक बैठकहरूमा सहभागी हुन एन्फा पदाधिकारीहरूले अनुमति मागेका थिए।