काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न लामिछानेले आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई-दुई जना प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो । तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट शीर्ष नेतृत्व सहभागी नभई संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्र सहभागी हुने भएका छन् ।

ad

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गतको सार्वजनिक लेखा समितिको हलमा बस्ने तय भएको उक्त बैठकका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सूचनासहितको आमन्त्रण पत्र पठाइएको रास्वपाले जनाएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक मुद्दाहरूमा छलफल हुने कार्यसूची छ ।