काठमाडौं । तीन पटकसम्म फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको नेदरल्यान्ड्सले यसपाली पहिलो पटक विश्वकप जित्ला त ? नेदरल्यान्ड्स विश्व फुटबलमा सहभागी हुने सबै प्रतियोगितामा सधै दाबेदार हैसियतमा रहने टिम हो । तर टोलीले सन् १९७४ र ७८ मा लगातार फाइनल पुगेर पनि विश्वकप जित्न सकेन । त्यही नियतिले सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा पनि निरन्तरता पायो ।

जुन ११ बाट सुरु हुने आसन्न विश्वकपमा नेदरल्यान्ड्स रहेको समूह ‘एफ’ मा जापान, ट्युनिसिया र स्विडेन छन् । सरसर्ती हेर्दा समूहबाट डच टोली विजेताका रुपमा अगाडि बढ्ने देखिन्छ । तर चार वर्षअघिको कतार विश्वकप २०२२ मा जापानले जर्मनी र स्पेनलाई निराश पारेको नतिजा सम्झने हो भने नेदरल्यान्ड्सको बाटो सहज देखिन्न ।

ad

स्विडेन आफैमा युरोपको यस्तो टोली हो, जसबाट अनपेक्षित नतिजा सधै अपेक्षित हुने गर्छ । अनि ठूला टिमलाई जोशको भरमा निराश पार्ने अफ्रिकी स्वभाव ट्युनिसियाबाट अपेक्षा गर्न सकिन्छ । समग्रमा समूह ‘एफ’का टिम कस्ता छन् त ?

नेदरल्यान्ड्स

सन् १९७० को दशकमा ‘टोटल फुटबल’ को शैली विकास गर्ने नेदरल्यान्ड्स सबै ठूला प्रतियोगितामा सधैको दाबेदार टोली हो । खासगरि डच फुटबलले हरेक कालखण्डमा उत्पादन गर्ने प्रतिभावान खेलाडीहरुको समूहका कारण नेदरल्यान्ड्सलाई विश्व फुटबलको महारथी हैसियत प्रदान गर्छ ।

तर जति राम्रो टिम भए पनि विश्वकपको हकमा यो टोली सधै अभागी सावित हुँदै आएको छ । तीन पटक फाइनलसम्म पुग्दा पनि च्याम्पियन बन्न सकेको छैन । नेदरल्यान्ड्सका लागि तीन पटक फाइनल पुगे पनि उपाधि सधै धेरै टाढाको फल बनिरहेको छ । यस्तो फल, जुन नेदरल्यान्ड्सले कहिल्यै टिप्न सकेन ।

यसपाली पनि रोनाल्डो कोम्यानको टोली त्यो फल टिपेर डच फुटबलले लामो समयदेखि गरेको विश्व च्याम्पियन हुने प्रतिक्षामा पूर्णविराम लगाउने अपेक्षा गरिएको छ ।

प्रशिक्षकको रुपमा डच टोलीसँग दोस्रो कार्यकाल काम गरिरहेका कोम्यानले नेदरल्यान्ड्सको टिमबाट थुप्रै उपाधि जितेका थिए । १९८८ मा टोलीले युरोपियन च्याम्पियनसिप जित्दा कोम्यान टिमका मुख्य खेलाडी थिए । यसैगरी सन् २०१९ मा नेदरल्यान्ड्सले नेशन्स लिग जित्दा चाँही कोम्यान टोलीसँग प्रशिक्षकको भूमिकामा पहिलो कार्यकाल बिताइरहेका थिए ।

नेदरल्यान्ड्सले प्रिमियर लिगका स्टारहरु भर्जिल भान डाइक, रायन ग्राभेनबर्च, टिजानी रेन्डर्स र कोडी गाक्पोजस्ता खेलाडीलाई विश्व च्याम्पियन बन्ने अभियानको हिस्सा बनाएको छ । तर पछिल्लो पुश्ताका केही शीर्ष खेलाडी चाँही प्रशिक्षक कोम्यानको रोजाईमा परेका छैनन् ।

टिम दी नेदरल्यान्ड्स

गोलकिपरः बार्ट भेर्ब्रुगेन (ब्राइटन), मार्क फ्लेक्केन (बायर लेभरकुसन), रोबिन रोइफ्स (सन्डरल्यान्ड)

रक्षकः भर्जिल भान डाइक (लिभरपुल), यान पाउल भान हेच्के (ब्राइटन), नाथन एके (म्यानचेस्टर सिटी), मिकी भान डी भेन (टोटनहम), डेन्जेल डम्फ्रिस (इन्टर मिलान), जोर्रिल हाटो (चेल्सी), जुरियन टिम्बर (आर्सनल)

मिड्फिल्डरः फ्रयांक डी योङ (बार्सिलोना), टिजानी रेन्डर्स (म्यानचेस्टर सिटी), जस्टिन क्लुभर्ट (बर्नमाउथ), क्विन्टन टिम्बर (मार्से), टियुन कुपमिनर्स (युभेन्टस), रायन ग्राभेनबर्च (लिभरपुल), मार्टिन डी रुन (एट्लान्टा), गुस टिल (पिएसभी आइन्डहोभन), पाट्स वेफर (ब्राइटन)

फरवार्डः कोडी गाक्पो (लिभरपुल), डनिल मालेन (एएस रोमा), ब्रायन ब्रोबे (सन्डरल्यान्ड), नुआ लाङ (गालाटासरे÷नेपोली), मेम्फिस डिपे (कोरिन्थियन्स), वाउट वेघहर्स्ट (आयाक्स), क्रिसेन्सियो समरभिल (वेस्ट ह्याम)

प्रशिक्षकः रोनाल्ड कोम्यान

जापान

एसियाली महारथी जापानको विश्वकपमा यो लगातार आठौं सहभागिता हो । समूह चरणबाट माथि उक्लिएको नतिजाका आधारमा यो लगातार तेस्रो सफल विश्वकप हो ।

उत्तर अमेरिकाका तीन देशले संयुक्त रुपमा आयोजना गर्न लागेको यो विश्वकपमा आयोजक भएको नाताले अमेरिका, क्यानाडा र मेक्सिकोको सहभागिता सबभन्दा पहिला पक्का भएको थियो । त्यसपछि छनोट चरणमार्फत विश्वकप २०२६ पुग्ने जापान पहिलो टिम हो । छनोट प्रतियोगितामा आफ्नो समूहका तीन खेल बाँकी रहँदै जापानले उत्तर अमेरिकाको टिकट काटिसकेको थियो ।

चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा जापानले दुई वटा प्रतियोगिता इतिहासकै ठूला स्तब्धतापूर्ण नतिजा निकालेको थियो । समूह चरणमा टोलीले चार पटकको च्याम्पियन जर्मनी र पूर्व विजेता स्पेनलाई पराजित गरेको थियो । तर जापान अहिलेसम्म विश्वकपमा अन्तिम १६ भन्दा माथि चाँही जान सकेको छैन ।

जापानी राष्ट्रिय टिमका अधिकांश खेलाडी युरोपबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । जसका कारण यसपाली पनि कम्तिमा नकआउट चरण पुग्नेमा जापानी समर्थक आशावादी छन् ।

बायर्न म्युनिखका रक्षक हिरोकी इटो जापानी टोलीका हेर्न लायक खेलाडी हुन् ।

टिम जापान

गोलकिपरः तोमोकी हायाकावा (काशिमा एन्टलर्स), केइसुके ओसाको (सान्फ्रेसे हिरोसिमा), जियोन सुजुकी (पार्मा)

रक्षकः युतो नागातोमो (एफसी टोकियो), शोगो तानिगुची (सेन्ट ट्रुइडेन), को इटाकुरा (आयाक्स), सुयोशी वातानाबे (फेयर्नुड), ताकिहिरो तोमियासु (आयाक्स), हिरोकी इटो (बायर्न म्युनिख), अयुमु सेको (ली हाभ्रे), युकिनारी सुगावारा (वेर्डेर ब्रेम्यान÷साउथह्याम्पटन), जुनोसुके सुजुकी (कोपेनहेगन)

मिड्फिल्डरः वाटारु इन्डो (लिभरपुल), जुन्या इटो (जेन्क), डाइची कामाडा (क्रिस्टल प्यालेस), कोकी ओगावा (एनइसी निज्मेजेन), डाइजेन माइडा (सेल्टिक), रिट्सु डोन (इन्ट्रयाक्ट फ्रयांकफर्ट), आओ तानाका (लिड्स), काइशु सानो (मेइन्ज), ताकेफुसा कुबो (रियाल सोसिडाड)

फरवार्डः अयासे उइडा (फेयर्नुड), केइटो नाकामुरा (रिइम्स), इटो सुजुकी (फ्रेइबर्ग), केन्टो शिओडे (उल्फसबर्ग), केइसुके गोटो (सेन्ट ट्रुइडेन)

प्रशिक्षकः हाजिमे मोरियासु

स्विडेन

खासमा आसन्न विश्वकपका लागि स्विडेन सिधा बाटोबाट आएको टिम होइन । झ्यालबाट छिरेर विश्वकपसम्म पुग्नका लागि टोलीले परिस्थितीहरुबाट सम्भव हुने जति साथ पाएको थियो ।

युरोपेली छनोट प्रतियोगिताको आफ्नो समूहमा एउटै खेल जित्न नसकेको स्विडेन पुछारमा सीमित थियो । तर नेशन्स लिग २०२४–२०२५ को प्रदर्शनका आधारमा टोलीले प्लेअफमा स्थान पाएको थियो ।

प्लेअफमा युक्रेन र पोल्यान्डलाई हराउँदै स्विडेन विश्वकपको टिकट काट्न सफल भयो । जसले पछिल्ला वर्षहरुमा चेल्सी र वेस्ट ह्यामबाट बर्खास्गतीमा परेपछि करियर जोगाउने नयाँ प्रशिक्षक ग्राहम पटरको संघर्षलाई पनि सुखद गन्तव्य दियो ।

एलेक्जेन्डर इसाक र भिक्टर ग्योकर्सजस्ता युरोपकै शीर्ष स्ट्राइकरमध्येका दुई जना आफूसँग हुनाका बावजुद छनोट चरणमा स्विडेनले भोगेका समस्याहरु अनपेक्षित थिए । किनकी टिममा लुकास बर्गभाल र एन्थोनी इलाङ्गाजस्ता स्टार खेलाडीहरुको पनि उपस्थिती थियो ।

सन् १९५८ को उपविजेता स्विडेनका लागि अमेरिकी भुमीसँग मिठा स्मरणहरु छन् । सन् १९९४ मा पछिल्लो पटक अमेरिकाले प्रतियोगिता आयोजना गर्दा स्विडेन सेमिफाइनलमा पुगेको थियो । टोली यसपाली पनि त्यस्तै नतिजाको अपेक्षामा हुनेछ ।

टिम स्विडेन

गोलकिपरः भिक्टर योहान्सन (स्टोक), क्रिस्टोफर नर्डफेल्ट (एआइके), ज्याकोब विडेल जेटरस्ट्रोम (डर्बी)

रक्षकः जाल्मर इकडाल (बर्नली), ग्याब्रियल गडमन्डसन (लिड्स), इसाक हिन (एट्लान्टा), इमिल होल्म (युभेन्टस), गुस्ताफ लार्जेबिल्के (ब्रागा), भिक्टर लिन्डेलफ (एस्टन भिल्ला), इरिक स्मिथ (सेन्ट पाउली), कार्ल स्टारफेल्ट (सेल्टा भिगो), इलिट स्ट्रोउड (एमजाल्बी), ड्यानिअल स्येनसन (बोरुसिया डर्टमण्ड)

मिड्फिल्डरः ताहा अली (माल्मो), यासिन अयारी (ब्राइटन्), लुकास बर्गभाल (टोटनहम), जेस्पर कार्लस्ट्रोम (युडिनेसी), केन सेमा (पाफोस), माटियास स्यानबर्ग (उल्फसबर्ग), बेस्फोर्ट जेनेली (युनियन सेन्ट जिलोइसे)

फरवार्डः एलेक्जेन्डर बर्नहार्डसन (होलस्टिन किइल), एन्थोनी इलाङ्गा (न्युक्यासल), भिक्टर ग्योकर्स (आर्सनल), एलेक्जेन्डर इसाक (लिभरपुल), गुस्ताफ निल्सन (क्लब ब्रुगे), बेन्जामिन नाइग्रेन (सेल्टिक)

प्रशिक्षकः ग्राहम पटर

ट्युनिसिया

विश्वकपमा सातौं पटक सहभागिता जनाउने तयारीमा रहेको ट्युनिसियाको यसपाली एकमात्र लक्ष्य छ, पहिलो पटक समुह चरणबाट माथि उठ्ने ।

कम्तिमा नकआउट चरण पुग्ने लक्ष्यमा चार वर्षअघि टोली निक्कै नजिक पुगेको थियो । तर अफ्रिकी टोलीलाई साविक विजेता फ्रान्सलाई १–० ले हराउनाका साथै डेनमार्कसँग बराबरी खेलेको नतिजा नकआउट चरण पुग्न पर्याप्त भएन् । ४ अंकका साथ ट्युनिसिया समूह ‘डी’ को तेस्रो स्थानमा सीमित हुँदा समान ६ अंक जोडेका फ्रान्स र अस्ट्रेलिया शीर्ष दुई स्थानमा रहँदै नकआउट चरण पुगेका थिए ।

गत डिसेम्बरमा सम्पन्न अफ्रिका कप अफ नेशन्समा अन्तिम १६ बाटै बाहिरिएपछि ट्युनिसियाले प्रशिक्षक सामी ट्रबेल्सीलाई बर्खास्त गर्दै साब्री लामौचीलाई विश्वकपका लागि अनुबन्ध गेको छ ।

यसै सिजन मात्र पेरिस सेन्ट जर्मेनसँग अनुबन्धित भएका २१ वर्षे खालिल अयारी ट्युनिसियाली टिममा नयँ भए पनि हेर्न लायक खेलाडी हुन् ।

टिम ट्युनिसिया

गोलकिपरः साब्री बेन हसन (इटोइले साहेल), एब्डेलमौहिब चामख (क्लब अफ्रिकइन), अइमेन डाहम्यान (सिएस एसफाक्सियान)

रक्षकः अली अब्दी (निस), एडेम एरोउस (कासिमपासा), मोअमेद एमिने बेन हामिडा (एस्परान्स), डाइलान ब्रुन (सेर्भेटे), रिड चिखाउइ (युएस मोनस्टिर), माउटाज नेफाटी (नोर्कोपिङ), ओमार रेकिक (मारिबोर), मोन्टासार ताल्बी (लोरियन्ट), यान भालेरी (योङ ब्वाइज)

मिड्फिल्डरः मोर्टाधा बेन क्वानेस (कासिमपासा), एनिस बेन स्लिमाने (नर्विच), इस्माइल घार्बी (औसबर्ग), रानी खेदिरा (युनियन बर्लिन), मोहमेद हाडज महमुद (लुगानो), हानीबाल मेजब्री (बर्नली), इलिस एसखिरी (इन्ट्रयाक्ट फ्रयांकफर्ट)

फरवार्डः इलियास एचोउरी (कोपेनहेगन), खालिल अयारी (पिएसजी आइन्डहोभन), फिरास चाउआट (क्लब अफ्रिकइन), रायन इलोउमी (भ्यान्कोभर ह्वाइटक्याप्स), हाजिम मास्टोउरी (डिनामो माखाच्काला), इलियास साद (ह्यानोभर), सेवास्टिन टौनेकी (सेल्टिक)

प्रशिक्षकः सार्बी लामौची

समूह ‘एफ’ खेलतालिका (नेपाली समयअनुसार)

– नेदरल्यान्ड्स विरुद्ध जापान, १५ जुन, बिहान ०१ः४५ बजे, एटिएनटी रंगशाला (डालास)

– स्विडेन विरुद्ध ट्युनिसिया, १५ जुन, बिहान ०७ः४५ बजे, बिबिभिए रंगशाला (मोन्टेरी)

– नेदरल्यान्ड्स विरुद्ध स्विडेन, २० जुन, राती २२ः४५ बजे, एनआरजी रंगशाला (ह्युस्टन)

– ट्युनिसिया विरुद्ध जापान, २१ जुन, बिहान ०९ः४५ बजे, बिबिभिए रंगशाला (मोन्टेरी)

– जापान विरुद्ध स्विडेन, २६ जुन, बिहान ०४ः४५ बजे, एटिएनटी रंगशाला (डालास)

– ट्युनिसिया विरुद्ध नेदरल्यान्ड्स, २६ जुन, बिहान ०४ः४५ बजे, केन्सास सिटी रंगशाला (केन्सास)