
काठमाडौं । नेकपा नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले अपेक्षित आर्थिक वृद्धि, रोजगारी विस्तार तथा संरचनागत रूपान्तरणको स्पष्ट आधार प्रस्तुत गर्न नसकेको बताएका छन्।
नेपाल व्यवस्थापन संघले राजधानीमा आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले बजेटमा विभिन्न कार्यक्रम समेटिए पनि कुनै निश्चित क्षेत्रलाई केन्द्रमा राखेर परिणाम हासिल गर्ने रणनीति नदेखिएको टिप्पणी गरे।
उनले सरकारले लोकप्रिय देखिने कार्यक्रमहरू समावेश गरेको भए पनि ती कार्यक्रमले दीर्घकालीन आर्थिक समृद्धि र उत्पादनशील क्षेत्रमा अपेक्षित उपलब्धि दिन सक्ने आधार कमजोर रहेको धारणा राखे।
पुनका अनुसार बजेटमा धेरै क्षेत्र समेटिएको आभास भए पनि सरकारको मुख्य आर्थिक नीति, प्राथमिकता र रूपान्तरणको स्पष्ट मार्गचित्र देखिँदैन। विगतका विभिन्न सरकारले अघि सारेका कार्यक्रमहरूको निरन्तरताजस्तो देखिए पनि वर्तमान सरकारको छुट्टै दृष्टिकोण र कार्यदिशा प्रस्ट रूपमा प्रस्तुत हुन नसकेको उनको भनाइ थियो।
उनले आर्थिक वृद्धि कुन क्षेत्रमार्फत हासिल गर्ने, रोजगारी सिर्जना गर्ने मुख्य आधार के हुने तथा देशको आर्थिक संरचनामा कस्तो परिवर्तन ल्याउने भन्ने विषयमा बजेटले स्पष्ट सन्देश दिन नसकेको बताए।
पूर्वअर्थमन्त्री पुनले बजेटमा धेरै कार्यक्रम समावेश गरिए पनि तिनको प्रभावकारिता, प्राथमिकता र अपेक्षित परिणामबारे पर्याप्त स्पष्टता नभएको उल्लेख गरे। उनका अनुसार बजेट बाह्य रूपमा आकर्षक देखिए पनि त्यसले हासिल गर्न खोजेको ठोस नतिजा र कार्यान्वयनको केन्द्रबिन्दु प्रस्ट रूपमा पहिचान गर्न कठिन छ।
उनले सरकारलाई सीमित तर प्रभावकारी प्राथमिकता निर्धारण गरी आर्थिक उत्पादन, लगानी, रोजगारी र विकासका क्षेत्रमा केन्द्रित कार्यक्रम अघि बढाउन सुझाव समेत दिए।










Facebook Comments