काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको विशेष अन्तरवार्तामा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै जनसमर्थन हासिल गर्दै सरकारको नेतृत्वसम्म पुग्न सफल भएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने दिशामा सरकार सक्रिय रहेको बताए।

ad

मन्त्री खनालले नेपाल र भारतबीचको खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको मित्रतालाई विशेष बनाएको उल्लेख गरे। उनले दुवै मुलुकले एकअर्काका सुरक्षा संवेदनशीलता र चासोलाई सम्मान गर्दै आएको भन्दै पारस्परिक विश्वास र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

हालै मौरिससमा आयोजित एक कार्यक्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै उनले साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए।

उनका अनुसार व्यापार, ऊर्जा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा, प्रविधि तथा क्षेत्रीय सम्पर्क सञ्जालको विस्तारजस्ता क्षेत्रमा नेपालले भारतसँग थप लगानी, सहयोग र साझेदारीको अपेक्षा गरेको छ। यस्ता क्षेत्रमा सहकार्य बढ्दै जाँदा दुवै देशलाई पारस्परिक लाभ पुग्ने विश्वास पनि उनले व्यक्त गरे।