काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ अध्ययन गर्ने छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। पहिलो चरणको ‘म्याचिङ लिष्ट’ अनुसार तीन हजार ७३५ विद्यार्थीलाई भर्नाका लागि सिफारिस गरिएको हो।

परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यताक्रममा समावेश विद्यार्थीहरूलाई उनीहरूले आवेदनका क्रममा छनोट गरेका विषय, शिक्षण संस्था तथा प्राथमिकताका आधारमा मनोनयन गरिएको हो। साधारण तथा आरक्षण कोटाअन्तर्गत समूहगत रूपमा निर्धारण गरिएका सिटअनुसार नाम सिफारिस गरिएको उनले बताए।

ad

शुक्रबार बसेको परीक्षा समितिको बैठकले मनोनयन सूची अनुमोदन गरेपछि त्यसलाई सार्वजनिक गरिएको हो। मनोनयनमा परेका विद्यार्थीहरूले महानगरको छात्रवृत्ति पोर्टलमार्फत आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी मनोनयन पत्र डाउनलोड तथा प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ।

सिफारिस भएका विद्यार्थीहरूले जेठ २७ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना प्रक्रिया पूरा गर्नुपर्ने महानगरले जनाएको छ।

विषयगत रूपमा हेर्दा शिक्षाशास्त्रतर्फ ६ जना, मानविकीमा १२ जना, कानूनमा ५० जना, व्यवस्थापनमा एक हजार ४०१ जना र विज्ञान संकायतर्फ दुई हजार २६६ जना विद्यार्थी सिफारिस भएका छन्।

त्यस्तै आरक्षण तथा विशेष कोटाअन्तर्गत ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, महानगरका स्थायी बासिन्दाबाट ४९२ जना, सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका एक हजार ५४५ जना, संस्थागत विद्यालयबाट उत्तीर्ण ४८१ जना तथा अपाङ्गता भएका व्यक्ति वा त्यस्ता परिवारका १३ जना विद्यार्थी छनोटमा परेका छन्।

यसैगरी आदिवासी जनजाति समूहबाट १७३ जना, खस आर्यबाट १९७ जना, छात्रा कोटाबाट ४४० जना, थारू समुदायबाट ३९ जना, दलितबाट ९६ जना, पिछडिएको क्षेत्रबाट ४६ जना, मधेशी समुदायबाट १४९ जना, मुस्लिम समुदायबाट २२ जना तथा शहीद, बेपत्ता, जनआन्दोलन र द्वन्द्वपीडित परिवारका १४ जना विद्यार्थीलाई पनि छात्रवृत्तिका लागि सिफारिस गरिएको छ।

महानगरले यस शैक्षिक सत्रका लागि आफ्नो क्षेत्रभित्र रहेका १४५ शिक्षण संस्थामा कुल चार हजार ८५७ छात्रवृत्ति कोटा निर्धारण गरेको छ।

पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरूले निर्धारित समयभित्र भर्ना नगरेका कारण रिक्त रहने सिटमा योग्यताक्रम र प्राथमिकताका आधारमा दोस्रो चरणको मनोनयन सूची जेठ २८ गतेपछि सार्वजनिक गरिने महानगरले जनाएको छ।