काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

पार्टीले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित र स्वाभिमानविपरीत रहेको आरोप लगाउँदै खबरदारी सभासहित विरोध कार्यक्रम आयोजना गरेको हो। प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता र भू–अखण्डताको पक्षमा विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

ad

विरोध कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले उक्त भनाइले राष्ट्रिय हितमा नकारात्मक प्रभाव पार्ने दाबी गर्दै यस विषयमा प्रमुख राजनीतिक दलहरूले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।

राईले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म प्रधानमन्त्रीको अभिव्यक्तिबारे औपचारिक प्रतिक्रिया नदिएको भन्दै प्रश्न उठाए। उनका अनुसार प्रधानमन्त्रीको भनाइपछि परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताबाट आएको स्पष्टीकरणले विवाद समाधान गर्न नसकेको तथा विषयलाई थप स्पष्ट पार्न आवश्यक रहेको छ।

उनले सरकारका तर्फबाट भएका अभिव्यक्तिहरू जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै एउटा त्रुटिलाई अर्को व्याख्याबाट ढाकछोप गर्न नहुने धारणा राखे। सरकारको प्रस्तुतिप्रति असहमति जनाउन आफूहरू सार्वजनिक रूपमा विरोधमा उत्रिएको उनको भनाइ थियो।

श्रम संस्कृति पार्टीले सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारले स्पष्ट, जिम्मेवार र जवाफदेही भूमिका निर्वाह गर्नुपर्ने माग पनि गरेको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले “नेपाली भूमि रक्षाऔँ”, “राष्ट्रिय सम्मान जोगाऔँ” तथा “गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ” लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।