काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सीमा विवादजस्ता संवेदनशील विषयहरूलाई कूटनीतिक प्रक्रियामार्फत नै समाधान गर्नुपर्ने बताएका छन्।

पाँच दिने भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले उठाएको सीमा विवादसम्बन्धी प्रश्नको जवाफ दिँदै उनले कूटनीतिक मामिलामा हतार वा प्रचारमुखी शैली उपयुक्त नहुने स्पष्ट पारे।

ad

उनका अनुसार दुई देशबीचका संवेदनशील विषयहरू ‘डिप्लोमेटिक च्यानल’ सक्रिय गराएर क्रमबद्ध रूपमा समाधान गर्नुपर्ने हुन्छ। उनले यस्तो विषयलाई ठूलो हल्ला वा सार्वजनिक प्रदर्शन शैलीमा अघि बढाउनु प्रभावकारी नहुने टिप्पणी गरे।

'कुनै पनि विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ। यसमा ढोल बजाएजस्तो गरेर होइन, चरणबद्ध प्रक्रियाबाट अघि बढ्नुपर्छ,' उनले भने।

लामिछानेले कूटनीतिक विषयलाई जिम्मेवारीपूर्वक बुझ्नुपर्नेमा जोड दिँदै यसमा राजनीतिक दल र नेतृत्वले संवेदनशीलता अपनाउनुपर्ने बताए। उनका अनुसार लोकप्रियताका लागि कडा अभिव्यक्ति दिनु सजिलो भए पनि वास्तविक समस्या समाधान भने कूटनीतिक अभ्यास र प्रक्रियामार्फत मात्र सम्भव हुन्छ।

उनले नेपालले आफ्ना सरोकारका विषयहरू विगतदेखि नै कूटनीतिक माध्यमबाट उठाउँदै आएको उल्लेख गर्दै भविष्यमा पनि सोही अभ्यास निरन्तर रहने बताए।

सीमा विवादलगायत विषयमा सार्वजनिक प्रतिक्रिया दिनुभन्दा उपयुक्त कूटनीतिक संयन्त्रमार्फत अघि बढ्नु नै दीर्घकालीन समाधान हुने उनको भनाइ थियो।