
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईं ले नयाँ राजनीतिक शक्ति निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेका छन्।
शुक्रबार दुवै नेताले ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै साझा राजनीतिक यात्राको आधार तय गरेका हुन्। सहमतिपत्रमा वैदिक सनातन हिन्दु परम्परा, किरात तथा बौद्ध संस्कृतिप्रति सम्मान जनाउने राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
दुवै पक्षले वर्तमान राजनीतिक परिस्थितिमा संवैधानिक राजसंस्थाको पुनर्स्थापना र राष्ट्रवादी धारलाई सुदृढ बनाउन नयाँ राजनीतिक दल आवश्यक भएको निष्कर्ष निकालेका छन्। सोही उद्देश्यअनुसार वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा केन्द्रित हुने सहमति भएको जनाइएको छ।
समझदारीमा नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राख्दै पृथ्वीनारायण शाह का दिव्य उपदेशबाट प्रेरित राजनीतिक दर्शनलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्ने उल्लेख गरिएको छ।
संघीय संरचनामा सुधार आवश्यक रहेको धारणा राख्दै दुवै पक्षले व्यवहारिक र सुधारमुखी संघीयताको पक्षमा उभिने बताएका छन्। साथै ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने अवधारणालाई प्रवर्द्धन गर्दै गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको सुविधा उपलब्ध गराउने विषयमा पनि सहमति जनाइएको छ।
सहमतिपत्रमा समान विचार र सिद्धान्त भएका राजनीतिक दल, सामाजिक अभियान, विभिन्न संघ–संगठन तथा व्यक्तित्वहरूसँग सहकार्य गर्दै निकट भविष्यमा नयाँ राजनीतिक दल घोषणा गर्ने प्रतिबद्धता समेत समावेश गरिएको छ।
राणा र प्रसाईंको यो सहकार्यलाई आगामी दिनमा राष्ट्रवादी तथा राजसंस्था समर्थक राजनीतिक धारलाई एकीकृत गर्ने प्रयासका रूपमा हेरिएको छ।












Facebook Comments