
जनकपुरधाम— नगर अधिवेशनको वैधानिकतामाथि विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा आन्तरिक असन्तुष्टि सार्वजनिक रूपमा देखिएको छ। असन्तुष्ट नेता–कार्यकर्ताले शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
विवादको केन्द्रमा धनुषाको गणेशमान चारनाथ नगरपालिकाको नगर अधिवेशन रहेको छ। पार्टीभित्रको मतभेदका कारण दुई पक्षले अलग–अलग अधिवेशन आयोजना गर्दै छुट्टाछुट्टै नेतृत्व चयन गरेका थिए।
एक समूहले अधिवेशनमार्फत प्रतिक नेपाल नेतृत्वको समिति घोषणा गरेको थियो भने अर्को समूहले आफूलाई आधिकारिक पक्ष दाबी गर्दै छुट्टै अधिवेशन सम्पन्न गरेको थियो। जेठ १७ गते भएको उक्त अधिवेशनमा जिल्ला नेतृत्व तथा निर्वाचन सम्बन्धी प्रतिनिधिहरूको सहभागिता रहेको बताइएको छ, जहाँ राकेश यादवको नेतृत्वमा नयाँ समिति चयन गरिएको थियो।
राकेश यादव नेतृत्वको समितिको विवरण पार्टीको आधिकारिक वेबसाइटमा समेत समावेश गरिएको थियो। तर केही दिनपछि उक्त विवरण हटाइएपछि विवाद थप चर्किएको हो।
वेबसाइटबाट आफ्नो समितिको नाम हटाइएको विरोधमा यादव पक्षका पदाधिकारी, सदस्य तथा स्थानीय कार्यकर्ताहरूले जिल्ला कार्यालयमा तालाबन्दी गरेका हुन्। उनीहरूले नेतृत्वबाट निष्पक्ष व्यवहार नभएको आरोप लगाएका छन्।
यादवले पार्टीभित्र गुटगत राजनीति बढ्नु चिन्ताजनक भएको बताउँदै विवाद समाधानका लागि सबै पक्षलाई समेटेर पुनः नगर अधिवेशन गरिनुपर्ने धारणा राखे। उनका अनुसार समस्या समाधानका लागि केन्द्रीय नेतृत्वसँग पनि सम्पर्क गरिएको थियो, तर विषयलाई जिल्ला तहबाटै टुंग्याउन सुझाव दिइएको थियो।
उनले जिल्ला सभापतिसहित जिम्मेवार पदाधिकारीहरू सम्पर्कमा आउन नचाहेको भन्दै असन्तुष्टि व्यक्त गरे। निष्पक्ष र सर्वस्वीकार्य ढंगले पुनः अधिवेशन नगरेसम्म तालाबन्दी नखोल्ने चेतावनी समेत आन्दोलनरत पक्षले दिएको छ।
नगर अधिवेशनबाट सुरु भएको विवादले अहिले जिल्ला संगठनमै असर पार्न थालेपछि रास्वपा धनुषामा आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण बनेको देखिएको छ।










Facebook Comments